ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–बंगलादेश व्यापार वार्ता : ऊर्जामा बंगलादेशको ‘लगानी–इच्छा’

Oct 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar निकेश खत्री


काठमाडौं । मंगलवार शुरू भएको नेपाल–बंगलादेश व्यापार वार्तामा दुवै मुलुकबीच द्विपक्षीय व्यापारमा देखिएका भन्सार र गैर–भन्सार अवरोध सहजीकरण, पारवहन र जल यातायातको सम्भावनाका विषयमा छलफल भएको छ । 

वार्तामा बंगलादेशले नेपाली जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको नेपाली अधिकारीहरूले बताए । बैठकमा पारवहन, खाद्य वस्तुदेखि ऊर्जा क्षेत्रसम्मका विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा नेपाली टोलीका संयोजक नवराज ढकालले बताए । ‘बंगलादेशी पक्षले २० जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएका छन्,’ उनले भने ।

बैठकमा नेपाली पक्षले विशेषगरी धागो र विद्युत् निर्यात, नेपाली विद्यार्थीका लागि भिसा सहजीकरण, थप बन्दरगाहको प्रयोगको विषय उठान गरेको नेपाली अधिकारीहरूले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा नेपाली टोलीका संयोजक नवराज ढकालले यसअघि मन्त्रिपरिषद्को बैठकले तय गरेका एजेन्डाभित्रै रहेर बैठक भइरहेको बताए ।

बंगलादेशले गतवर्षदेखि नेपाली धागो आयात खुला गरे पनि ठूलो परिमाणमा धागो निर्यात हुन सकेको छैन । आयात खुला गरेको वर्ष दिनमा पनि नेपालबाट बंगलादेशतर्पm रू. ६० करोड बराबरको धागो मात्र निर्यात हुन सकेको छ ।

अहिले बंगलादेशले नेपालबाट एक्रेलिक धागो मात्रै आयात गर्न अनुमति दिए पनि सो धागो बंगलादेशमा धेरै प्रयोग नहुने गरेको नेपाली उद्योगी तथा व्यवसायीहरूले बताउँदै आएका छन् । हाल बंगलादेशमा भिस्कस यार्न, पोलिस्टर भिस्कस, डाइड यार्न (रंगीन धागो) को माग उच्च छ ।

उता, बंगलादेशी टोलीले जूस आयातमा नेपालले लगाएको प्रतिबन्धलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ । गतवर्ष नेपालले स्वदेशी जूस उद्योगलाई संरक्षण गर्न भन्दै विदेशी जूस आयातमा प्रतिबन्ध लगाउँदा त्यसको मार सबैभन्दा बढी बंगलादेशी जूसलाई परेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारघाटा कम गर्न ल्याएको ‘राष्ट्रिय व्यापारघाटा कार्ययोजना’ले जूस आयातमा प्रतिबन्ध लगाउँदा त्यसको ठूलो असर बंगलादेशी कम्पनी प्रानलाई परेको छ । बंगलादेशबाट नेपालमा हुने कुल आयातको झन्डै ३९ प्रतिशत अंश जूस र पेय पदार्थले ओगटेको थियो । नेपालले बंगलादेशबाट आर्थिक वर्ष (आव) २०७४/७५ मा रू. १ अर्ब ६८ करोडको प्रान लिची जूस आयात गरेको थियो । 

मंगलवारको बैठकमा खाद्य सुरक्षाको सन्दर्भमा एमओयू गर्नेबारे पनि छलफल भएको थियो । त्यस्तै, एक अर्काको प्रयोगशालालाई मान्यता दिने तथा प्रयोगशाला सम्बन्धमा सूचना आदानप्रदान र प्लान्ट क्वारेन्टाइनको सन्दर्भमा पनि छलफल भएको छ ।

नेपालको बंगलादेशसँगको द्विपक्षीय व्यापार विगत ४ वर्षदेखि घाटामा छ । पछिल्लो समय बंगलादेशबाट जूस आयात बढ्दै जाँदा व्यापारघाटा बढ्दै गएको थियो । बंगलादेशबाट नेपाल आयात हुने वस्तुहरूको सूची लामै भए पनि नेपालबाट बंगलादेश निर्यात हुने वस्तु जम्माजम्मी १० ओटा मात्रै छन् । 

नेपालबाट बंगलादेशतर्फ निर्यात हुने मुख्य वस्तुहरूमा दाल, डाबर नेपालका उत्पादन, जडीबुटी, तोरीको तेलबाट बनेको केक, ट्रान्सफर्मर लगायत पर्छन् । यस्तै, बंगलादेशबाट नेपालतर्फ जूस र पेय पदार्थ, कच्चा जूट, धूलो दूध, चिनीलगायत वस्तु आयात हुँदै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)