सरकारले २०७१ साउन २३ गते बहुमूल्य पत्थरको निकासीमा एकाएक प्रतिबन्ध लगायो । बहुमूल्य पत्थरको कच्चापदार्थ कौडीको भाउमा विदेशिएको भन्दै निकासीमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्खनन कम्पनीहरू क्रमशः धराशयी बन्दै गए । सरकारले निकासीमा प्रतिबन्ध लगाउनुअघि देशका विभिन्न भागमा गरी २९ कम्पनीले विभिन्न प्रकारका बहुमूल्य पत्थरको उत्खनन तथा निकासी गर्दै आएका थिए । तर निकासीमा एकाएक लगाइएको प्रतिबन्धपछि हाल सबै कम्पनी बन्द भइसकेका छन् ।
खासगरी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को नेतृत्वमा बनेको समितिले बहुमूल्य पत्थर प्रशोधन गरेर मात्र निकासी गर्ने भन्दै कच्चापदार्थको निकासीमा प्रतिबन्ध लगाउनु पर्ने सुझाव खानी तथा भूगर्भ विभागको खानिज प्रवद्र्धन तथा प्रशोधन केन्द्रमा पेश ग¥यो, जसलाई नेपाल सरकारको मन्त्रिपरिषद्ले नै पारित गर्दै प्रशोधित पत्थर निर्यात गर्ने योजनासहित कच्चापदार्थ निकासीमा प्रतिबन्ध लगायो । तर निकासी प्रतिबन्ध भएको ५ वर्षसम्म प्रशोधनको कुनै प्रभावकारी योजना तथा तयारी विभाग र उद्योग मन्त्रालयसँग छैन ।
अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा बहुमूल्य पत्थरको खानी उत्खनन गर्ने २९ कम्पनीबाट झरेर १८ ओटा कम्पनीले उत्खननको लाइसेन्स नवीकरण गरेका थिए, जसमध्ये एउटा कम्पनीले मात्र खानी सञ्चालन गरिरहेको थियो । जाजरकोट र कालीकोटमा सञ्चालित विपीन एन्ड अभि खनिज उद्योगले अघिल्लो आर्थिक वर्षमा ७ किलो काइनाइट उत्पादन गरेको थियो । सोबाहेक अन्य कम्पनीको उत्पादन ठप्प छ । यस्तै गत आर्थिक वर्षयता कुनै कम्पनीले लाइसेन्स नवीकरण गरेका छैनन् ।
निकासी प्रतिबन्ध हुनुअघि आर्थिक वर्ष २०७०/७१ मा ६९६ किलो टुरमालिन, १ हजार १८७ किलो काइनाइट र ४ हजार २५६ किलो क्वार्ज उत्पादन भएको थियो । सोही वर्ष विभागले टुरमालिनबाट रू. २१ लाख ८८ हजार, काइनाइटबाट रू. ४ हजार र क्वार्जबाट रू. ८६ हजार रुपैयाँ राजस्व उठाएको थियो । २०७२ फागुनमा टुरमालिन र क्वार्जको राजस्व प्रतिकिलो ५ गुणा र काइनाइटको राजस्व ५०० गुणा बढाइयो । तिर्न नसकिने गरी राजस्व बढाइएकाले पनि कम्पनी थला पर्दै गए ।
निकासी बन्द हुनुअघि संखुवासभामा खानी सञ्चालन गर्दै आएका हरिप्रसाद तिम्सिना स्वदेशी सबै निजी उत्खनन कम्पनीलाई ध्वस्त पार्ने योजनासहित सरकारले निकासीमा प्रतिबन्ध लगाएको आरोप लगाउँछन् । नेपालमा पाइने प्रशोधन गर्न मिल्ने र नमिल्ने दुई प्रकारका पत्थरलाई एउटै सोचेर निकासीमा प्रतिबन्ध लगाइएको उनले बताए ।
विश्वमा पाइने ८०० प्रकारका पत्थरमध्ये हालसम्म नेपालमा ८ प्रकारका बहुमूल्य पत्थर भेटिएका छन्, जसमा केही प्रशोधन गर्न मिल्ने तथा केही प्रशोधन गर्न नमिल्ने खालका छन् । प्रशोधन गर्न मिल्ने टुरमालिन, रुबी र काइनाइट हुन भने क्वार्जलाई प्रशोधन नै गर्न मिल्दैन ।
प्राकृतिक रूपमै विभिन्न स्वरूपमा क्वार्ज पाइने भएकाले त्यसलाई प्रशोधन गर्न काटिए त्यसको मूल्य शून्य हुने उद्योगीहरूको भनाइ छ । बर्माको रुबी, कोलम्बियाको पन्ना, तान्जानियाको तान्जानाइट, श्रीलंकाको सफायर, दक्षिण अफ्रिकाको हीरा र नेपालको क्वार्जलाई विश्वस्तरीय बहुमूल्य पत्थरका रूपमा लिइन्छ ।
यस्तै अर्का उद्योगी रामप्रसाद देवकोटाका अनुसार विश्व बजारमा बहुमूल्य पत्थरको खरीदकर्ताले कच्चापदार्थ लिएर त्यसलाई विभिन्न स्वरूपमा बदल्ने गरेका छन् । तर नेपाल सरकारको योजना अनुसार तयारी पत्थर मात्र निर्यात गर्ने लक्ष्य भए पनि त्यो सम्भव नभएको उनले बताए । ‘यसअघि तान्जानियाको सरकारले त्यहाँ मात्र पाइने तान्जानाइटलाई प्रशोधनपछि मात्रै निकासी गर्ने लक्ष्यसहित कच्चापदार्थ निकासीमा प्रतिबन्ध लगाएको थियो,’ उनले भने, ‘तर पहिलेको बजार पनि गुमेपछि सरकार यूटर्न भयो ।’
प्रतिबन्ध हुनुअघि नेपालबाट टुरमालिन, काइनाइट र क्वार्ज गरी तीन प्रकारका पत्थर उत्खनन तथा निकासी हुँदै आएको थियो, जसमध्ये क्वार्ज हङकङ, जर्मनी, जापान र अन्य यूरोपेली मुलुकमा निर्यात हुन्थ्यो भने टुरमालिन र काइनाइटको मुख्य बजार भारत थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन भने कच्चापदार्थको निकासीमा प्रतिबन्ध लगाइँदा देशलाई घाटा नहुने बताउँछन् । उनका अनुसार कौडीको भाउमा निर्यात भइरहेको बहुमूल्य पत्थरको कच्चापदार्थ एक तहको प्रशोधनपछि निकासी गर्दा त्यसको उचित मूल्य पाइने तथा देशमै रोजगारीको अवसर सृजना हुने गर्छ ।
निकासी खुल्ने आशा
विगत ५ वर्षदेखि ठप्प रहेको बहुमूल्य पत्थर निकासी खुल्ने आशा जागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा जाजरकोटमा बहुमूल्य पत्थर खानी सञ्चालन गर्ने घोषणा गरेपछि निकासी खुल्ने आशा बढेको हो ।
सुर्खेतमा प्रशोधन केन्द्र र जाजरकोटमा बहुमूल्य पत्थरका खानी सञ्चालन गर्नेगरी खानी तथा भूगर्भ विभाग अघि बढिसकेको छ । साथै उत्खनन उद्योगीसँगको पटक पटकको बैठकबाट विभाग निकासी पुनः खुला गर्ने निष्कर्षमा पुगेको छ । निकासी खुलाउन भन्दै विभागले उद्योग मन्त्रालयमा ३ महीनाअघि चिठी समेत पठाएको छ । विभागका उप–महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार प्रशोधनविना नै निकासी गर्न मिल्ने पत्थरको निकासी खोल्ने योजना बनेको छ ।
त्यसैगरी विभागले भारतका दुई र अमेरिकाको एक कम्पनीसँगको सहकार्यमा प्रशोधन केन्द्र र खानी स्थापनाको काम अगाडि बढाएको छ, जसमध्ये प्रशोधन केन्द्र स्थापनाका लागि विभागले मुख्यगरी भारतीय सरकारी निकाय जेमोलोजी इन्स्टिच्युट अफ इन्डियासँग सहकार्य गर्दै छ । साथै भारतकै जिओलोजिकल सर्भे अफ इन्डिया ट्रेनिङ इन्स्टिच्युट र जेमोलिजिकल इन्स्टिच्युट अफ अमेरिकासँग सहकार्य गर्ने योजना रहेको विभागका खनिज प्रवद्र्धन तथा प्रशोधन केन्द्रका सुपरिटेन्डेन्ट माइनिङ इन्जिनीयर जयराज घिमिरे बताउँछन् ।
सुर्खेतमा प्रशोधन केन्द्र स्थापनाका लागि रू. १ करोड बजेट छुट्ट्याइएको छ । यस्तै आवश्यक मेशिनरी खरीद र जनशक्ति तयार गर्न विभागले रू. ८५ लाख विनियोजन गरेको छ । तर जाजरकोटको खानी सञ्चालनका लागि भने विभागले खासै तयारी गरिसकेको छैन । खानी अन्वेषणका लागि वार्षिक बजेटको रूपमा रू. १० लाख छुट्ट्याउनु बाहेक अन्य प्रगति देखिँदैन ।
पूर्व बहुमूल्य पत्थर उद्योगी रामप्रसाद देवकोटा सरकारले बहुमूल्य पत्थर प्रशोधन गरेर मात्र निकासी गर्ने बताए पनि आवश्यक पूर्वाधार तयार भइनसकेको बताउँछन् । यस्तै हरिप्रसाद तिम्सिनाका अनुसार निकासी पुनः खुले पनि उत्खननको पुरानै अवस्थामा पुग्न आगामी १ दशकजति लाग्ने बताउँछन् ।
खासगरी दक्ष जनशक्तिको पलायन, आवश्यक पूर्वाधारको अभाव, पुरानो बजारको हिस्सा गुम्नु जस्ता कारण उक्त समय लाग्ने देखिएको हो । अहिलेकै अवस्थामा निकासी खुला गरे पनि बन्द भइसकेका कम्पनीलाई सञ्चालनमा ल्याउन सरकारले विशेष सहुलियत तथा आर्थिक सहायता दिनुपर्ने अवस्था देखिएको छ ।
नेपालमा पाइने बहुमूल्य पत्थर
विभिन्न चरणमा गरिएका अध्ययनहरूबाट विश्वमा पाइने करीब ८०० प्रकारका बहुमूल्य पत्थरमध्ये नेपालमा ८ प्रकारका फेला परेका छन् । त्यसमध्ये पनि व्यावसायिक उत्खनन/प्रशोधन गर्न मिल्ने सम्भावना बढीमा पाँचओटाको मात्र रहेको बताइन्छ । हालसम्म नेपालमा क्वार्ज अर्थात् स्फटिक, रुबी अर्थात् माणिक, गार्नेट अर्थात् रक्तमणि र अक्वामरिन अर्थात् नील हरितमणि, ब्लू सफायर अर्थात् नीलमणि, काइनाइट, टुरमालिन र ‘वर्ल’ गरी विभिन्न ८ प्रकारका बहुमूल्य पत्थर पाइएको खनिज तथा द्रव्य संघले बताएको छ ।
यीमध्ये मुख्यगरी क्वार्ज पूर्वदेखि पश्चिमसम्मको हिमाली तथा उच्च पहाडी भेगमा, रुबी धादिङमा, गार्नेट र अक्वामरिन संखुवासभामा, ब्लू सफायर ताप्लेजुङमा र काइनाइट जाजरकोटमा पाइने बताइएको छ । यस्तै गोरखा, कालीकोट, जाजरकोट, दोलखा, रसुवा, ताप्लेजुङ, दार्चुला लगायत जिल्लामा पनि बहुमूल्य पत्थर पाइन्छ । नेपालमा पाइनेमध्ये काइनाइट अति महत्त्वपूर्ण, टुरमालिन महत्त्वपूर्ण र क्वार्ज सामान्य पत्थरको वर्गमा पर्छन् । बहुमूल्य पत्थरको मूल्य वर्ग अनुसार महँगिँदै जान्छ । (क्वार्ज प्राकृतिक रूपमै आकर्षक स्वरूपमा पाइने भएकाले विश्वमा पाइने उत्कृष्ट पत्थरहरूको सूचीमा परेको हो ।)