काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन प्रालिमा बेलायती सरकारको विकास वित्त संस्था सीडीसी ग्रूपले रू. १ अर्ब ३५ करोड (१२ करोड अमेरिकी डलर) लगानी गरेको छ । वल्र्डलिंकको १० प्रतिशत शेयर खरीद गर्दै सीडीसीले उक्त लगानी गरेको हो ।
सीडीसीको लगानी नेपाली इन्टरनेट सेवाप्रदायकमा आएको पहिलो विदेशी लगानी हो । सीडीसीका अनुसार नेपाली कम्पनीमा यो उसको पहिलो शेयर लगानी हो भने समग्रमा नेपालमा दोस्रो लगानी हो । यसअघि नेपालको एनएमबी बैंकमा कर्जा लगानी गर्दै सीडीसी नेपालमा औपचारिक रूपमा प्रवेश गरेको थियो । सीडीसीले गत फागुनमा एनएमबी बैंकलाई १ करोड ५० लाख डलर ३ वर्षका लागि ऋण दिएको थियो ।
पछिल्लो समय हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको संस्थागत शेयर किन्नेमा पनि सीडीसीले चासो देखाएको छ । हिमालयन बैंकमा स्थापनादेखि प्रमुख शेयर साझेदारका रूपमा रहेको हबिबको २० प्रतिशत शेयर किन्ने विषयमा बैंक र सीडीसीबीच छलफल चलिरहेको छ ।
सीडीसीको लगानीले नेपालभर इन्टरनेट सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनामा सघाउ पुर्याउने वर्ल्डलिंकले बताएको छ । ‘यो हाम्रो २४ वर्षको मेहनत तथा नेपालको इन्टरनेट र टेलिकम उद्योगप्रतिको विश्वास पनि हो,’ वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताए ।
त्यस्तै, सीडीसी ग्रूपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रीनि नागराजन्ले नेपालमा आफ्नो संस्थाको लगानीले ग्रामीण तथा दुर्गम भेगमा इन्टरनेटको पहुँच पुर्याई सूचना प्रविधिको विकासमा सहयोग पुग्ने बताए । ‘हाम्रो लगानीले नेपालीहरूको जीवनमा अर्थपूर्ण भिन्नता ल्याउन मद्दत पुर्याउनेछ भन्ने धारणाका साथ हामीले बल्र्डलिंकसँग साझेदारी अगाडि बढाएका हौं,’ उनले बताए । नेपालका इन्टरनेट सेवाप्रदायकमध्ये वर्ल्डलिंकको अंश सबैभन्दा बढी छ । २०५२ भदौ ३० देखि इन्टरनेट सेवा शुरू गरेको कम्पनीले हाल १० देखि अधिकतम ५६ एमबीपीएस स्पिडको इन्टरनेट दिँदै आएको छ ।
आठ हजार किलोमीटर फाइबर बिछ्याई देशका दुर्गम ठाउँसम्म इन्टरनेट सेवा पुर्याएको वर्ल्डलिंकलाई आफ्नो कम्पनीमा आएको विदेशी लगानीले सेवा विस्तारलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अग्रवालको भनाइ छ ।