यसपालिको तिहारमा ६० करोड रुपैयाँबराबरको भिलिमिली बत्ती नेपाल भित्रने भएको छ । तिहार र छठलार्ई लक्षित गर्दै व्यवसायीले उक्त परिमाणको यस्ता बत्ती आयात गर्ने भएका हुन् । हाल यी बत्ती धमाधम आयात भइरहेको छ भने केही आउने क्रममा छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटाले यो वर्षको तिहारमा ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रने बताए । गतवर्ष ७० करोड हाराहारीमा बत्तीको कारोबार भएको थियो । तिहार सकिने बित्तिकै छठ पर्व शुरू हुने भएकाले सो समयसम्मका लागि धान्नेगरी बत्ती आयात गरिने उनको भनाइ छ ।
काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका शहरमा यस्ता बत्तीको माग अत्यधिक हुन थालेको महासंघको भनाइ छ । पछिल्लो समय सिजनको व्यापार भएकाले तिहारका लागि भित्रिएका सामान फुटपाथमै पनि व्यापारीले विक्री गर्ने गरेका छन् । देशमा लोडशेडिङ भएका बेलाको तुलनामा अहिले यस्ता बत्ती प्रयोग गर्नेहरूको संख्या बढेको व्यापारीहरू बताउँछन् ।
चीनबाट धेरै आयात
नेपालमा तिहारका लागि विशेषगरी चीन र भारतबाट यस्ता बत्ती आयात हुने गरेको छ । यसमध्ये ९० प्रतिशत चीनबाट आयात हुने महासंघका उपाध्यक्ष देवकोटाले जानकारी दिए । भारतबाट १० प्रतिशत बत्ती भित्रने गरेको छ । यो समयमा साधारण बल्बको विक्री पनि दुई गुणा बढ्ने गरेको व्यवसायी बताउँछन् । बजारमा झिलिमिली बत्तीहरू फरक–फरक मूल्यमा उपलब्ध छन् । न्युनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू तिहारका लागि आयात हुन्छन् । विभिन्न रङमा बल्ने–निभ्ने यस्ता बत्ती उपभोक्ताले घर, बगैंचा, कार्यालय, बिजनेश मल लगायतको सजावटका लागि अत्यधिक प्रयोग गर्छन् ।
त्यसैगरी देवी–देवताका फोटामा जोडिएको बत्तीको विक्री पनि यो समयमा हुने गरेको व्यापारीहरू बताउँछन् । यस्ता सामग्री धेरै बिग्रिने र तिहारमा विक्री नभएमा थन्किएर बस्ने हुँदा व्यवसायीले नाफा बढी राखेर विक्री गर्छन् । सीमा क्षेत्रमा कतिपयले भन्सार छलेर नै यस्ता बत्ती भिœयाउने गरेका छन् । नेपालमा करीब ४ हजार व्यवसायीले यस्ता सामग्री विक्री गर्ने गरेको महासंघका उपाध्यक्ष देवकोटाले बताए ।
दशैं सकिएको हप्ता दिनपछि नै तिहारको माहोलले शहर बजार छोपिसक्छ । व्यापारिक हिसाबले पनि तिहार महत्वपूर्ण छ । गाउँगाउँमा फुलेका फूल–माला तथा तिहारका सामग्री विक्री गर्न काठमाडौंका चोक तथा सडकमा व्यापारीहरू बसेका भेटिन्छन् । व्यावसायिक प्रतिष्ठानहरूमा दशैंमा टाँगिएका माला बत्ती तिहारसम्मै बलिरहन्छन् । तिहार आउनु हप्ता दिन अघिदेखि नै घरघरमा झिलीमिली बत्ती राख्न थालिन्छ ।
काठमाडौंका असन, महाबौद्धका साथै देशभरका शहरहरूमा तिहारका सामान किनमेल गर्ने मानिसको भीड लाग्न थालिसकेको छ । अघिपछिको भन्दा तिहारमा बढी व्यापार हुने भएकाले यतिबेला व्यापारीहरूलाई भ्याइनभ्याई छ । व्यवसायीका अनुसार तिहारमा एलईडी बल्ब, झिलिमिली बत्ती अन्य समयको भन्दा ८० प्रतिशत बढी विक्री हुने गर्दछ । तिहारको मौका छोपेर व्यवसायीले पनि नयाँ नयाँ ब्रान्डका सामान नेपाल भिœयाउने गरेका छन् ।
तिहारमा परम्परागत दियोका साथै विभिन्न रङ र ढाँचाका मैनबत्तीले घर आँगन सजाउने परम्परा भए पनि पछिल्लो समय आधुनिक बत्तीहरूको प्रयोग बढ्न थालेको छ । अहिले तिहारमा परम्परागत दियो, मैनबत्तीभन्दा पनि आधुनिक विद्युतीय बत्तीहरूको प्रयोग र माग उच्च हुन थालेको छ ।
रङको व्यापार पनि बढ्दो
फागु पूर्णिमापछि धूलो रङ बढी विक्री हुने समय पनि तिहार नै हो । पहिले पहिले भाइटीकाका लागि थोरै थोरै विभिन्न (सप्तरंगी) रङ किनिन्थ्यो । तर पछिल्लो दशकयता रंगोली (मण्डला) बनाउने प्रचलन बढेकाले धूलो रङको विक्री पनि बढेको छ । यसैलाई लक्षित गरी चोक र बाटाहरूमा रङ बेच्ने क्रम चलिसकेको छ ।
चाडपर्वलाई लाक्षित गर्दै नेपाली समाजमा घर रंग्याउने चलन छ ।
त्यसमा पनि तिहारमा घरआँगन सफा गरेर रंग्याउनाले लक्ष्मी प्रसन्न भई वास गर्न आउँछिन् र सुख सम्पत्ति मिल्छ भन्ने धार्मिक विश्वास छ । गाउँ घरमा माटोका घर हुने हुँदा यो समयमा कमेरो तथा गेरु र शहरी क्षेत्रका पक्की घरहरू बजारिया रङले रंग्याउने चलन थियो । पछिल्लो समय अर्थात् भूकम्पले घर भत्किएपछि ग्रामीण भेगमा पनि पक्की घर बन्ने क्रम बढेकाले तिहारमा गाउँघरमा पनि बजारिया रङकै प्रयोग बढेको छ ।
नेपाल पेन्ट डिलर्स एशोसिएशनका अध्यक्ष रामचन्द्र खत्री पहिले पहिले अन्य समयको तुलनामा तिहारका बेला ४० प्रतिशत बढी रङको व्यापार हुने गरेको बताउँछन् । तर पक्की घरको विकाससँगै घर रंग्याउन तिहार नै कुर्ने चलनमा कमी आएको उनको भनाइ छ । यसले गर्दा पहिलेको तुलनामा पछिल्ला वर्षहरूका तिहारमा पनि अन्य दिनको सरह नै व्यापार हुने गरेको उनको दाबी छ ।
भूकम्पपछि गाउँ गाउँमा घर बनिरहेकाले पछिल्ला ४/५ वर्षमा पेन्ट कारोबार अत्याधिक भएको छ । खत्रीका अनुसार हाल वार्षिक २५ देखि ३० प्रतिशत पेन्ट व्यवसाय बढ्दै गएको छ । नेपालमा स्वदेशी र विदेशी गरी ५० ओटा पेन्ट कम्पनी सञ्चालनमा छन् । २०७२ सालदेखि पेन्ट कारोबारमा सकारात्मक प्रभाव देखिएको छ । एशोसिएशनका अनुसार गत आर्थिक वर्षमा २ हजार करोडको रङ कारोबार भएको थियो ।