ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोतीहारी–चितवन ग्यास पाइपलाइन सर्वे शुरू

अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने 

Oct 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar निकेश खत्री author avatar महेश्वर अधिकारी

काठमाडौं/बारा । भारतको मोतीहारीदेखि चितवनसम्म पाइपलाइनबाटै खाना पकाउने एलपीजी ग्यास ल्याइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शनिवार बाराको अमलेखगञ्ज डिपो परिसरमा संकेत पिल्लर गाडी मोतीहारी–चितवन ग्यास पाइपलाइन निर्माणको सर्वेको औपचारिक शुरुआत गरेका छन् । मन्त्री यादवले सोही अवसरमा अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तारको शुरुआतको घोषणा गरे । 

चितवनको लोथरसम्म ग्यास ल्याउनलाई विहारको मोतीबारीबाट कुल १३१ किलोमीटर लामो पाइपलाइन निर्माण हुनेछ । कुल लागत रू. १५ अर्ब अनुमान गरिएको यस आयोजनाअन्तर्गत पाइपलाइन निर्माणमा रू. ११ अर्ब १९ करोड र ग्यास भण्डारणका लागि ट्यांकी निर्माण गर्न रू. ३ अर्ब ८१ करोड लाग्ने निगमले बताएको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार चितवनमा बनाइने ग्यास भण्डारण केन्द्रबाट देशका अन्य भागमा एलपीजी ग्यास आपूर्ति सहजै गर्न सकिनेछ । पाइपलाइनबाट प्रतिघण्टा १ सय टनको दरले आउने ग्यास भण्डारण गर्न लोथरमा २० हजार मेट्रिक टनको ट्याङ्की निर्माण गरिनेछ । दुवै परियोजनाको सम्भाव्यता अध्ययन नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले संयुक्तरूपमा गरीने विस्तृत परियोजना प्रतिवेदन प्राप्त भएपछि मात्र कुल लागत तथा समय निर्धारण गरिने निगमले जनाएको छ । 

आपूर्ति सहज बनाउन तेलको थप भण्डारण क्षमता बढाउन अलेखगञ्जमा जग्गा अपुग भएकाले चितवनसम्म विस्तार गरेर ठूलो क्षमतामा तेल भण्डारण गर्ने योजना रहेको आयल निगमका नायब कार्यकारी निर्देशक इन्जिनीयर सुशील भट्टराईले बताए । देशका अन्य भागमा ढुवानी गर्न सहज हुने देखिएकाले पनि चितवनको लोथरलाई केन्द्र बनाएर कामको थालनी गर्न लागिएको उनले बताए  ।

मन्त्री यादवले देशका विभिन्न भागमा पाइपलाइन मार्फत इन्धन आपूर्ति गर्ने योजना अनुसार पाइपलाइन विस्तारको कार्य थालनी गरिएको बताए । ग्यास पाइपलाइनको पहिलो चरणको सर्वे सकिएको बताउँदै निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने ‘ग्यास ल्याउन सहज हुने सम्भावित बाटो पत्ता लागेको छ ।’ उनका अनुसार थप सर्वेबाट लागत र बाटो पत्ता लाग्नेछ ।

भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन  चितवनसम्म पु¥याउन ६२ किलोमीटर पाइपलाइन बिछ्याउनुपर्छ । आयल निगमका अनुसार यसको कुल लागत रू. ५ अर्ब ६७ करोड लाग्नेछ भने पेट्रोलियम भण्डारणका लागि ट्यांकी निर्माण गर्न रू. अर्को ४ अर्ब १९ करोडको खर्च हुनेछ । अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २९० किलोलिटर पेट्रोल आउनेछ । दोस्रो चरणको पाइपलाइन विस्तारसँगै चितवनको लोथरमा १ लाख किलोलिटर भण्डारण क्षमताको ट्यांकी निर्माण हुनेछ ।

यसअघि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानीमा भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याइ सकिएको छ । यसमा रू. २ अर्ब भारत सरकारको र रू. ७५ करोड नेपाल सरकारको रहेको लगानी रहेको थियो । 

कुल लम्बाइ ६९ दशमलव ५ किलोमीटर रहेको सो पाइपलाइन भारततर्फ ३२ दशमलव ५ किलोमीटर र नेपालतर्फ ३७ दशमलव ५ किलोमिटर रहेको छ । 

विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौता अनुसार पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा ४ हजार किलोलिटर डिजल ल्याउन सकिनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)