उमेरको आधारमा व्यक्ति विशेष अथवा समूहलाई भेदभाव अथवा दुव्र्यवहार गर्ने वा अलग्याउनेजस्ता प्रवृत्तिलाई उमेरवाद भनिन्छ । उमेरकै कारण कानूनी एवम् सामाजिक अधिकारबाट वञ्चित गराइन्छ अथवा वञ्चित गराउने अभिप्राय राखिन्छ भने त्यसलाई पनि उमेरवाद मानिन्छ । सन् १९६९ मा प्रख्यात मनोचिकित्सक रोबर्ट नेल बटलरले उमेरवादको व्याख्या गर्दा तीनथरीका प्रवृत्तिको चर्चा गरेका थिए ।
पहिलो, उमेरकै कारणले कुनै व्यक्ति विशेष अथवा समूहप्रतिको दृष्टिकोणमा पूर्वाग्रह, दोस्रो व्यवहारमा भेदभाव र तेस्रोमा उमेरलाई मात्र आधार बनाई कुनै व्यक्ति र समूहलाई होच्याउने अथवा समान्य अधिकारबाट वञ्चित गरिने संस्थागत अथवा नीतिगत अभ्यास भनेका थिए । ज्येष्ठ नागरिकप्रति बढ्दै गएको भेदभाव र दुव्र्यवहारविरूद्ध अन्तरराष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा विषय उठ्न थालेपछि संसारभरि नै जागरुकता ल्याउने अभिप्रायले डिसेम्बर १४, १९९० मा संयुक्त राष्ट्रसंघको साधारणसभाबाट निर्णय भई प्रत्येक वर्ष अक्टोबर १ तारीखलाई ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउने अभ्यास पनि शुरू भएको पाइन्छ ।
उमेरवादका असहज उदाहरण
राजनीतिक गतिविधिबाहेक अन्य सबैथरीका टेलिसिरियल, प्रचार सामग्री अथवा सिनेमा प्रसारणमा ज्येष्ठ नागरिकको प्रतिनिधित्व नगन्य देखिन्छ । पाका उमेरका मानिसमा खासै आकर्षण हुँदैन र यिनको सहभागिता खासै प्रभावकारी हुँदैन भन्ने प्रायः एकैखालको दृष्टिकोण पाइन्छ । प्रायःजसो घर, कार्यालय अथवा सार्वजनिक स्थानका भ¥याङ बनाउँदा पाको उमेरका मानिसलाई पनि लक्षित गरी बनाइँदैन । बाटोघाटो होस् अथवा सवारीसाधन, सार्वजनिक शौचालय आदिमा वृद्धवृद्धाले सास्ती नै खेप्नु परेको हुन्छ । सरकारी नियमले अवकाशको उमेर हद तोकेको छ । निजीक्षेत्रमा रोजगार खोज्दा खासै वास्ता गरिँदैन । युवायुवतीले सौन्दर्य प्रदर्शनको नाममा यौन प्रदर्शन गर्दा समाजले सहज रूपमा लिन्छ । युवायुवतीले यौनजनित कुरा वा क्रियाकलाप गर्दा पनि प्रायः सहज रूपमा लिइने गरिन्छ । तर, त्यही कुरा वृद्धवृद्धाले गर्दा उपहास र आलोचनाका पात्र बन्न पुग्छन् । वृद्धवृद्धाको शारीरिक अथवा मानसिक दुर्बलतालाई सहज रूपमा स्वीकारिँदैन । युवाहरूसित तुलना गरेर होच्याउने प्रयास गरिन्छ । ढल्दो उमेरसँगै आम्दानी सुक्दा ज्येष्ठ नागरिकलाई आफ्नै परिवारका निम्ति व्ययभार मानिन्छन् । ज्येष्ठ नागरिकलाई कचकचे भनेर उपहास गरेको पनि पाइन्छ । यी सबै वैचारिक खाडलका उदाहरण हुन् ।
उमेरवादको कुप्रभाव
उमेरवादको कुप्रभाव भयावह रूपमा विस्तार भइरहेको छ । प्रभावित व्यक्तिको आत्मविश्वास क्षीण हुँदै जान्छ । आपूm क्षमतावान् हुँदाहुँदै पनि चुनौतीपूर्ण कार्यमा हात हाल्न डराउँछन् । नकारात्मक सोचाइ थपिँदै जान्छ । विस्तारै स्वयम्प्रति उदासीन हुँदै जान्छन् । भित्रभित्रै निराशाका शिकार हुन्छन् । रोगप्रतिरोधक क्षमतामा पनि ह्रास आउन थाल्छ ।
उमेरवादबाट पीडित व्यक्ति स्वयम्लाई निरर्थक मान्न थाल्छन् । उमेरवादको कुप्रभाव व्यक्ति र समूहमाथि मात्र होइन, समग्र समाजको विकासमा पनि परेको हुन्छ । अनुभवी र योग्य जनशक्तिको लाभ लिनबाट समाज वञ्चित हुन्छ । परिवारमा कटुता, वैमनस्य बढेका अनेक उदाहरण छन् । आप्mना सन्तान र सम्पत्ति हुँदाहुँदै पनि कतिपय ज्येष्ठ नागरिक वृद्धाश्रममा आश्रय लिन बाध्य भएका हुन्छन् ।
ज्येष्ठ नागरिकको भूमिका
पारिवारिक जमघट र सार्वजनिक कार्यक्रमा सहभागी भइराख्नुपर्छ । आप्mनो कुरा राख्ने पालो आउँदा अवसर छुटाउनु हुँदैन र पालो नआए पनि नैराश्य ल्याउनु हुँदैन । सञ्चारका माध्यममा सक्दो सक्रिय हुनुपर्छ । सकेसम्म समसामयिक विषयमा लेखमार्पmत आप्mनो विचार प्रकट गर्नुपर्छ । सामाजिक संगठनमा सहभागी भएर सक्दो जिम्मेवारी पनि वहन गर्नुपर्छ । नयाँ पिढीका मान्छेसँग घुलमिल हुन सक्नुपर्छ । मान्छे उमेरले होइन, सोचाइले पाको हुन्छ भन्ने कुरालाई आत्मसात् गर्नुपर्ने हुन्छ ।
कतिपय ज्येष्ठ नागरिक अतीतकै कुरामा बढी रुचि राख्छन् । वर्तमानबारे खासै मतलब राख्दैनन् । वर्तमानमा के भइरहेको छ भन्नेमा रुचि राख्नुपर्छ । समय गतिशील छ र समयसँगै प्रविधि पनि विकसित भइरहेको छ । नयाँ प्रविधि उपयोगमा अग्रसर हुनुपर्छ । अनलाइन सपिङ, इन्टरनेट बैंकिङ, अनलाइन पेमेन्ट ट्रान्सफरजस्ता प्रविधिको उपयोग गर्दा दैनिकी सहज हुन्छ ।
यी भर्खरका केटाकेटी उमेरकालाई के थाहा हुन्छ र ? भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । मेरो सिक्ने उमेर सकियो भन्ने मानसिकतासमेत राख्नु हुँदैन । सकेसम्म स्वनिर्भर र स्वस्थ रहनुपर्छ । परनिर्भरता लाचारी हो । दिनहुँ शारीरिक व्यायाम र औषधि आदिको उचित प्रयोग गर्नुपर्छ । आफ्नो स्वास्थ्यको उचित रेखदेखमा कुनै कमी राख्नु हुँदैन । शारीरिक अथवा मानसिक दुर्बलताबाट परनिर्भरताको अवस्था आउँछ भने सकेसम्म उपकरणको सहयोग लिँदा उचित हुनेछ । ‘कति दिन बाँच्नु नै छ र ?’ जस्तो नकारात्मक सोच कहिल्यै ल्याउनु हुँदैन । म जति दिन बाँच्छु, गुणस्तरीय जीवन बाँच्नेछु भन्ने अठोट लिनुपर्छ । आफ्नो सोचाइ सधैं सकारात्मक राख्नुपर्छ ।
युवाको दायित्व
प्रत्येक युवाले हेक्का राख्नुपर्छ कि आज उनीहरूले ज्येष्ठ नागरिकप्रति जस्तो व्यवहार गर्दै छन्, भोलि आफैले त्यस्तै व्यवहारको सामना गर्नुपर्छ । स्वयम्का विचार, सम्बोधन र क्रियाकलापमा आफैले निगरानी राख्नुपर्छ । युवाहरूले बेलाबखत ज्येष्ठ नागरिकको सम्मानमा सानाठूला कार्यक्रमको आयोजना गर्नुपर्छ । अभिभावकका साथ अन्तरंग सम्बन्ध आवश्यक छ । अभिभावकसँग गुणस्तरीय समय बिताउनुपर्छ । अभिभावकका साथ पारिवारिक इतिहास सोध्ने, आफ्ना भावी योजनाबारे अवगत गराउने र निर्णय लिन अप्ठ्यारो भएका कुरामा सुझाव माग्नेजस्ता अभ्यास हुनुपर्छ । ज्येष्ठ नागरिकका कुरामा आफ्नो तर्कबाट जित्नैपर्छ भनेर अडान राख्नु हुँदैन । वृद्धवृद्धाको शारीरिक एवं मानसिक अवस्थालाई ध्यानमा राख्दै घरको भर्याङ, शौचालय, सुत्ने कोठा, बस्ने कुर्सी आदिको छनोट गर्नुपर्ने हुन्छ । वृद्धवृद्धाका अनौठा व्यवहारका सम्बन्धमा स्वयंलाई त्यो स्थानमा राखेर आत्ममन्थन गर्नुपर्छ । उमेरवादको नकारात्मक असरबाट समाजलाई सुरक्षित राख्नु सबैको साझा दायित्व हो ।
लाठ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् ।