काठमाडौं । नेपालमै उत्पादन नहुने पाम आयल तथा सोयाबिन आयलको निर्यात ह्वात्तै बढ्दा मुलुकको समग्र निर्यात झन्डै १५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ३ महीनामा नेपालको कुल निर्यात रू. २७ अर्ब १६ करोड पुग्नुमा मुलुकको आन्तरिक उत्पादनको निर्यातमा वृद्धि नभई आयातित यी दुई वस्तुको निर्यातको प्रमुख भूमिका रहेको छ ।
मुलुकको कुल निर्यातको झन्डै २७ प्रतिशत अंश पाम आयल र सोयाबिन आयलले ओगटेका छन् । समीक्षा अवधिमा रू. ७ अर्ब २६ करोड बराबरको पाम आयल र सोयाबिन आयल निर्यात भएको छ । नेपालको कुल निर्यातमा यी दुई वस्तुको निर्यात घटाउने हो भने रू. २० अर्ब बराबरको निर्यात भएको देखिन्छ, जुन अघिल्लो आवको सोही अवधिमा भएको निर्यातको तुलनामा रू. ३ अर्ब कम हो ।
यसले तेस्रो मुलुकबाट पाम आयल आयात गरी रिप्याकेजिङ गरी भारततर्फ निर्यात गरेकाले समग्र निर्यातमा सुधार आएको तर, आन्तरिक उत्पादन प्रवद्र्धन गरी निर्यात बढाउने सरकारी प्रयास अझै प्रभावकारी हुन नसकेको प्रस्ट्याउँछ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा रू. ५ अर्ब ७८ करोडको पाम आयल र रू. १ अर्ब ४८ करोडको सोयाबिन आयल नेपालबाट निर्यात भएको छ । जबकि सोही अवधिमा नेपालमा रू. ५ अर्ब ५४ करोडको पाम आयल र करीब रू. ४ अर्ब बराबरको सोयाबिन तेल आयात भएको छ ।
पाम आयलको आयात तथा भारततर्फ निर्यात आकाशिनुमा नेपालमा यसको आयात महसुल भारतभन्दा सस्तो हुनु र त्यसको फाइदा व्यापारीहरूले उठाउनु नै हो । सुपारी र मरीचमा जस्तै यसमा पनि नेपाली व्यवसायीले भारतको आयात नीतिको छिद्रमा खेल्दै भन्सार दर (ट्यारिफ डिफरेन्स) को फाइदा उठाएको स्पष्ट देखिन्छ ।
भारतले आशियान मुलुकबाट आयात हुने पाम आयलको भन्सार दर बढाएपछि त्यसको प्रत्यक्ष फाइदा नेपालका व्यवसायीहरूले उठाएको व्यवसायी आनन्द बगारियाले बताए । ‘भारतले नेपाललाई कृषिक्षेत्रमा दिँदै आएको छूटको प्रयोग गरेर पाम आयल निर्यात हुँदै आएको छ,’ उनले भने, ‘नेपालसहित बंगलादेश र श्रीलंकाले पनि यस्तै गरिरहेका छन् ।’ गत आवको आरम्भदेखि नै भारततर्फ पाम आयल र सोयाबिन आयलको निर्यात एकाएक बढ्न थालेको थियो । यसअघि भारत निर्यात नै नहुने पाम आयल तथा सोयाबिन आयलको भारत निर्यात गत आवमा क्रमशः रू. १० अर्ब ३३ करोड तथा रू. २ अर्ब ३४ करोड पुगेको थियो ।
नेपालमा पाम आयलको आयातमा भन्सार दर १० प्रतिशत तर भारतमा ४० प्रतिशत रहेको छ । यही, सस्तो भन्सार दरको फाइदा उठाउँदै साफ्टाको अधिकार प्रयोग गरेर भारतमा पाम आयल निर्यात भएको भन्सार विभागका अधिकारीहरूको भनाइ छ । पछिल्लो समय काश्मिरको मुद्दालाई लिएर मलेशिया तथा भारतबीच मतभेद बढ्दा भारतका पाम आयाल आयातकर्ताले मलेशियाबाट पाम आयल आयात नगर्ने वा कम गर्ने बताएका छन् । यदि त्यसो भएमा नेपालबाट भारततर्फ पाम आयलको निर्यात थप बढ्न सक्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाको भनाइ छ । ‘त्यस अर्थमा आयातित पाम आयल र सोयाबिनले थेगेको निर्यातलाई दीर्घकालीन भन्न मिल्दैन,’ उनले भने ।
भन्सार विभागको तथ्यांक अनुसार यस आवमा नेपालमा पाम आयल मुख्यगरी इन्डोनेशिया, मलेशिया, पपुवा न्यूगिनी र सिंगापुरबाट आयात भएको छ । त्यस्तै सोयाबिन आयलको आयात अर्जेन्टिना, ब्राजिल, इन्डोनेशिया, पाराग्वे, मलेशिया, भारत, युक्रेन लगायत देशबाट भएको देखिन्छ ।
सरकारी अधिकारीहरूले निर्यातमा भएको वृद्धिले व्यापारघाटामा आएको सुधारलाई सकारात्मक बताइरहँदा वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजू लामो समयसम्म चलेको व्यापारघाटाको चक्र ३ महीनाको तथ्यांककै आधारमा राम्रो भएको भन्न नसकिने बताउँछन् ।
आयात १०.३४ प्रतिशतले घट्यो
पहिलो ३ महीनामा मुलुकको समग्र आयात १० दशमलव ३४ प्रतिशतले घटी रू. ३ खर्ब ३४ अर्बमा सीमित भएको छ, जबकि अघिल्लो आवको यही अवधिको कुल आयात रू. ३ खर्ब ७३ अर्ब थियो । निर्यातमा भएको वृद्धि तथा आयातमा आएको कमीका कारण नेपालको वैदेशिक व्यापारघाटा १२ दशमलव शून्य २ प्रतिशतले खुम्चिएको छ । सरकारले व्यापारघाटा घटाउन ल्याएको योजना अनुसार आयात घटेको अर्थशास्त्री केशव आचार्यले बताए । उनका अनुसार स्वदेशी उद्योगको संरक्षण गर्ने लक्ष्यसहित अर्थ मन्त्रालयले विभिन्न वस्तुको भन्सार दर बढाउँदा तथा तयारी वस्तुको भन्सार दर बढ्दा त्यसको प्रभाव समग्र आयातमा देखिएको हो ।