काठमाडौं । नेपालका विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले ग्रामीण दूरसञ्चार कोष (आरटीडीएफ)मा करीब २ अर्ब रुपैयाँ दाखिला गरेका छन् । असोज मसान्तसम्ममा ६९ कम्पनीले कोषमा १ अर्ब ९४ करोड २९ लाख रुपैयाँ बुझाएका हुन् । यीमध्ये अर्बमा रकम बुझाउने एउटा टेलिकम अपरेटर कम्पनी रहेको छ भने करोडभन्दा बढी रकम बुझाउनेमा दुई टेलिकम अपरेटर र तीन इन्टरनेट सेवा प्रदायक कम्पनी रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।
दूरसञ्चार ऐन अनुसार दूरसञ्चार सेवा सञ्चालन गर्ने कम्पनीहरूले आप्mनो कुल आम्दानीको २ प्रतिशतले हुन आउने रकम कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम दूरसञ्चार सेवाप्रदायकले उक्त कोषमा रकम जम्मा गर्दै आएका छन् । यसरी जम्मा भएको रकम विभिन्न दूरसञ्चार परियोजनामा खर्च हुने गरेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार कोषमा सबैभन्दा बढी रकम बुझाउनेमा मोबाइल सेवाप्रदायक अगाडि छन् । कोषमा दाखिला भएको १ अर्ब ९४ करोड २९ लाख रुपैयाँमध्ये ५० प्रतिशतभन्दा बढी एनसेल एक्लैले बुझाएको छ । असोज मसान्तसम्ममा एनसेलले १ अर्ब १० करोड ६१ लाख रुपैयाँभन्दा बढी बुझाएको छ ।
कोषमा धेरै रकम बुझाउने कम्पनीमा नेपाल टेलिकम दोस्रो स्थानमा छ । सरकारी स्वामित्वको यस कम्पनीले एनसेलको भन्दा करीब ४० करोड कम अर्थात् ७० करोड रुपैयाँ दाखिला गरेको प्राधिकरणका सहायक निर्देशक झलक थापाले जानकारी दिए । उनका अनुसार युनाइटेड टेलिकम र स्याटेलाइट टेलिकमले ३ वर्षदेखि कोषमा रकम जम्मा गरेका छैनन् । अर्को टेलिकम अपरेटर स्मार्ट टेलिकमले भने निकै थोरै मात्र रकम दाखिला गरेको छ । कम्पनीले १ करोड ४१ लाख रुपैयाँ कोषमा बुझाएको देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको उक्त कोषमा इन्टरनेट सेवा प्रदायक ठूला कम्पनीहरूले पनि करोडभन्दा बढी रकम दाखिला गरेका छन् । कोषमा धेरै रकम बुझाउनेको तेस्रो स्थानमा रहेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड रहेको छ । कम्पनीले ५ करोड ९५ लाख रुपैयाँ जम्मा गरेको छ । यसपछि सुबिसु केबलनेट प्रालिले २ करोड ६८ लाख रुपैयाँभन्दा बढी बुझाएको छ । कोषमा धेरै रकम बुझाउनेको पाँचौं स्थानमा रहेको भायनेट कम्युनिकेशन्स प्रालिले भने १ करोड २६ लाख रुपैयाँ दाखिला गरेको छ ।
यसभन्दा मुनि रहेको वेब सर्फर नेपाल कम्युनिकेशन्स प्रालिले ५० लाख रुपैयाँ बुझाएको छ । यस्तै अन्य दुई कम्पनीहरू टेकमाइन्ड नेटवर्क र कम्युनिकेशन्स एन्ड कम्युनिकेट नेपालले करीब बराबर रकम बुझाएका छन् । यी दुवैले उक्त कोषमा ४१ लाख रुपैयाँको हाराहारीमा दाखिला गरेका छन् ।
कोषमा १० लाखभन्दा बढीका दरले रकम बुझाउने कम्पनीहरूमा मर्कन्टायल कम्युनिकेशन्स, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन र हिमालयन अनलाइन सर्भिसेज प्रालि छन् । यसबाहेक बाँकी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले भने ७÷७ लाखको हाराहारीमा रकम दाखिला गरेको देखिन्छ । तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा थोरै रकम दाखिला गर्ने कम्पनी नेपाल एयर लिंक प्रालि रहेको छ । कम्पनीले कोषमा २ हजार ८०० रुपैयाँ दाखिला गरेको छ । ठूलो नेटवर्क सञ्चालन इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेक भने यो सूचीमा छैन ।