काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कात्तिक २९ गतेलाई तोकिएको विशेष साधारणसभाको स्थगनसँगै महासंघको विधान संशोधन र त्यससँग जोडिएको भावी नेतृत्वबारे करीब एक वर्षदेखिको शक्ति संघर्षले विश्राम पाएको छ । योसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघको भावी अध्यक्ष बन्ने बाटो पनि खुलेको छ ।
महासंघको विधान संशोधन समितिको शुक्रवारको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा गठित विधान संशोधन समितिले ३५ बुँदे संशोधन प्रस्ताव कात्तिक २९ को विशेष साधारणसभामा पेश गर्ने तयारी गरेको थियो । शुक्रवारको बैठकले प्रक्रिया पूरा नगरी विधान संशोधन अघि बढाइएको भन्दै आएको महासंघभित्रकै फरक मतलाई सम्मान गर्दै विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।
महासंघको आगामी नेतृत्वका लागि शक्ति संघर्ष चर्किंदै जाँदा महासंघ दुई चिरामा विभाजित भएको थियो । पूर्वअध्यक्ष ढकाल, गोल्छालाई अध्यक्ष बन्न नदिन जसरी पनि रोक्ने पक्षमा उभिएका थिए भने बाँकी पूर्वअध्यक्षहरू गोल्छाको पक्षमा खुलेरै उभिए । विधान संशोधनमार्फत् अध्यक्षको प्रत्यक्ष निर्वाचनको पक्षमा ढकाललाई महासंघका दुई उपाध्यक्ष किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठको साथ थियो । उता, गोल्छाको पक्षमा पूर्वअध्यक्ष पशुपति मुरारकाको दह्रो सहयोग रह्यो ।
ढकालका अनुसार अध्यक्षमा प्रत्यक्ष निर्वाचनको व्यवस्था पुनः गर्दा संस्थामा नेतृत्वका लागि अनावश्यक प्रतिस्पर्धा बढ्ने देखिएकाले हालकै व्यवस्था लागु गर्नका लागि विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरिएको हो । ‘आइतवार बस्ने स्थायी समितिको बैठकले यसलाई आधिकारिक रूपमै स्थगन गर्ने घोषणा गर्नेछ,’ उनले भने ।
महासंघभित्र र बाहिरबाट आएका विभिन्न सुझावलाई आत्मसात गर्दै आवश्यक छलफलपछि नै अध्यक्षमा प्रत्यक्ष निर्वाचन प्रणाली पुनः कायम गर्ने संशोधन प्रस्तावबाट पछि हटिएको ढकालको भनाइ छ । निजीक्षेत्रको अग्रणी संस्थाको छवि नबिग्रियोस् तथा नेतृत्व तहको विवाद थप नचर्कियोस् भन्नका लागि पनि यस्तो निर्णय गरिएको उनले बताए ।
दुवै पक्षबीच सहमति कसरी हुन पुग्यो भन्नेबारेमा विस्तृतमा बताइएको छैन । यद्यपि दशैं र तिहारमा नेतृत्व र विधान संशोधनबारे दुवै पक्षबीच बाक्लै छलफल चलेको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघको अनावश्यक राजनीति सकिएको बताएका छन् । उनले महासंघमा अब सबै मिलेर काम गर्ने समय आएको बताउँदै भने, ‘विधान संशोधनको विषयले बिग्रेको महासंघको छवि सुधार्न सबै मिलेर लाग्ने समय आएको छ ।’ गोल्छाका अनुसार विशेष साधारणसभा रोकिए पनि आइतवार बस्ने स्थायी समितिको बैठकले महासंघको आगामी दिनको योजना तय गर्ने छ ।
शुक्रवार विधान संशोधन समितिको बैठकअघि नै विशेष साधारणसभा नहुने निश्चितजस्तै भएको थियो । खासगरी महासंघको विधानअनुसार विशेष साधारणसभाको स्थान तोक्न १५ दिनअघि बस्नुपर्ने बैठक नबसेपछि साधारणसभा नहुने पक्कापक्की भइसकेको थियो । २९ गतेका लागि बोलाइएको विशेष साधारणसभा स्थगित गर्ने लक्ष्यसहित शुक्रवार संशोधन समितिको बैठक बसेको हो । अब संशोधन समितिले गरेको निर्णयलाई आइतवारको स्थायी समितिको बैठकले आधिकारिक रूपमै मान्यता दिनेछ ।
महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले साधारणसभा नभएपछि विधान संशोधनको प्रस्ताव पेश नहुने तथा महासंघको भावी अध्यक्ष हालकै व्यवस्थाअनुसार शेखर गोल्छा हुने बताए ।
यसअघि विधान संशोधनको विषय जोडतोडले उठे पनि महासंघभित्रै आवश्यक प्रक्रिया नपुगेको भन्दै संशोधनको विषयको विरोध हुँदै आएको थियो । संशोधन गर्न आवश्यक प्रक्रिया र तयारी नपुगेको भन्दै महासंघमा निवेदनसमेत परेको थियो । ‘त्यो निवेदनको बारेमा महासंघ अध्यक्ष भवाणी राणाले विधान संशोधन समितिका संयोजक ढकाललाई जानकारी गराउनुभएको थियो,’ महासंघका एक केन्द्रीय सदस्यले बताए । यसका साथै संशोधनको तयारी र प्रक्रिया नपुगेको भन्दै संयोजक ढकाललाई कार्यसमितिका अधिकांश सदस्यले दबाब दिएका थिए । त्यसअनुसार नै ढकालले महासंघको राजनीतिमा ‘सेफ ल्याण्डिङ’को बाटो रोजेको उनको तर्क छ ।
विधान संशोधन समितिले साउन २० गते कार्यसमितिमा ३५ बुँदे संशोधन प्रस्ताव पेश गरेको थियो । प्रस्तावमा महासंघको अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन वा आगामी एक/दुई कार्यकाल हालकै व्यवस्था लागू गर्न सकिने विकल्प राखिएको थियो । यसअघि आर्थिक वर्ष २०७३/७४ मा विधान संशोधन गरी महासंघका वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने व्यवस्था ल्याइएको थियो । त्यतिखेरको विधान संशोधनमा पनि पूर्वअध्यक्ष ढकालकै सक्रियता थियो ।