ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–भारत व्यापार सम्बन्ध : नेपाल भारतको दशौं ठूलो निर्यात गन्तव्य

भारतको कुल निकासीको २ दशमलव १६ प्रतिशत नेपालमा, भारतको पक्षमा ट्रेड सरप्लस भएका मुलुकमध्ये नेपाल तेस्रो स्थानमा

२०७७ भदौ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन प्र. लम्साल

काठमाडौं । नेपालको वैदेशिक व्यापारको झन्डै दुई तिहाइ अंश भारतसँग छ । द्विपक्षीय व्यापारमा दक्षिणी छिमेकीसँगको यो सम्बन्धले सधैं एउटा भाष्य निर्माण गर्‍यो, नेपाल आर्थिक रूपले भारतसँग परनिर्भर छ ।

खुला सिमाना, भारतीय बन्दरगाहमार्फत हुने नेपालको तेस्रो मुलुकसँगको व्यापार, नेपालमा भारतीय लगानीलगायत पक्षले नेपाल लाभान्वित भएको तर्क भारतीयहरूको रहँदै आएको छ ।

केही हदसम्म उनीहरूको यो तर्कमा सत्य छ । तर, नेपाल–भारत व्यापारिक सम्बन्धको अर्को पक्ष के भने (जसबारे कमै चर्चा हुन्छ), भारतका लागि पनि नेपाल एउटा ठूलो बजार हो ।   

धेरैलाई थाहा नभएको अर्को तथ्य के भने भारतको द्विपक्षीय व्यापारमा उच्च नाफा (ट्रेड सरप्लस) भएका मुलुकमध्ये नेपाल एक हो । भारतको पक्षमा ट्रेड सरप्लस भएका १० मुलुकमध्ये नेपालको स्थान तेस्रोमा पर्छ ।

भारतका लागि पनि नेपाल ठूलो बजार हो । भारतको उच्च व्यापार नाफा (ट्रेड सरप्लस) भएका मुलुकमध्ये नेपाल तेस्रो स्थानमा पर्छ

सन् २०१९/२० मा भारतले नेपालमा ७ दशमलव १४ अर्ब अमेरिकी डलरबराबरको वस्तु निर्यात गर्दा नेपालबाट ७१.१ करोड डलरको मात्र आयात गरेको छ । यसले स्पष्टै देखाउँछ, गतवर्ष नेपालसितको द्विपक्षीय व्यापारबाटै भारतले ६.४३ अर्ब अमेरिकी डलर (७७१ अर्ब रुपैयाँ) को कमाइ गर्‍यो ।

भारतको कुल वस्तु निकासी गन्तव्यका आधारमा नेपाल दशौं स्थानमा छ । सन् २०१९/२० मा भारतको कुल निकासी व्यापारमध्ये नेपालको अंश २ दशमलव १६ प्रतिशत छ । एक नम्बरमा रहेको अमेरिकामा त्यो वर्ष कुल निकासी व्यापारमध्ये १६ प्रतिशत गएको देखिन्छ ।

तर, आयातमा भने यसको ठीक उल्टो अवस्था छ । भारतको कुल आयातको शून्य दशमलव १५ प्रतिशत मात्र नेपालबाट हुन्छ । भारतको आयात गन्तव्यहरूमध्ये नेपाल ५९ औं स्थानमा पर्छ ।

यसले स्पष्ट पार्छ, नेपालको वैदेशिक व्यापारमा भारतको पकड बलियो छ । साथै, भारतीय वस्तु र सेवाका लागि नेपाल प्रमुख बजार पनि हो ।

नेपालको पेट्रोलियम बजार भारतको इन्डियन आयल कर्पोरेशनको पूर्ण पकडमा छ । गत आवमा मात्रै नेपालले १५७.७२ अर्ब बराबरको पेट्रोलियम पदार्थ भारतबाट खरीद गर्‍यो ।

भारतीय फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमजीसी), सवारीसाधन, औषधिलगायत वस्तुले नेपाली बजारमा उल्लेख्य अंश ओगटेका छन् ।

असमान व्यवहार
जति सहजताका साथ भारतीय वस्तु र सेवाले नेपालमा प्रवेश पाइरहेका छन्, त्यही सहजता नेपाली उत्पादनले भारतीय बजारमा पाएका छैनन् ।

चाहे त्यो भारतीय बजारमा सामान निर्यात गर्दा होस् वा तेस्रो मुलुकमा सामान पठाउँदा । नेपाली निर्यातकर्ताले पटकपटक भारतीय भन्सार तथा अधिकारीहरूको अवरोध सामना गर्नुपर्छ ।

सामान्यतया नेपालबाट धेरै निकासी हुने वस्तुहरूमा भारतीय अवरोध हुने गरेको दृष्टान्त छ । अलैंची, अदुवा, चिया निर्यातकर्ताहरूले पटकपटक भन्सार र गैरभन्सार अवरोधको सामना गर्नु परेको छ ।

भारतद्वारा नेपालबाट हुने प्रशोधित पाम आयलको निर्यातमा रोक यसकै पछिल्लो उदाहरण हो ।

भारतले नेपाललाई वैदेशिक व्यापारको मुख्य बजार र अवसरका रूपमा उपयोग गर्दै आए पनि हाम्रो मुलुकले त्यहाँको बजारबाट फाइदा लिन नसकेको वाणिज्य क्षेत्रका जानकारहरू बताउँछन् । सन् १९९६ को नेपाल–भारत पारवहन र वाणिज्य सन्धियता नेपाली बजारमा भारतीय वस्तुको प्रभुत्व क्रमशः बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजु बताउँछन् । वाणिज्य सन्धिले नेपाल–भारतबीच पारस्परिक व्यापार सहुलियतको व्यवस्था गरे पनि नेपालले त्यसको फाइदा लिन नसकेको व्यवसायीहरूको भनाइ छ ।

‘नेपाल र भारतीय बजारमा एकअर्काका उत्पादनले पारस्परिक प्राथमिकताका आधारमा स्थान पाउने भनिएको छ । तर, नेपालबाट हुने निकासीमा भारतले गैरभन्सार अवरोध लाद्ने गरेको छ,’ एक उद्यमीले भने । भारतीय उत्पादनका लागि नेपाल महत्त्वपूर्ण बजार भएकाले त्यसको विशेष लाभ लिन सरकारले पहल गर्नुपर्ने सुझाव उद्यमीहरूको छ ।

सन् १९९० को अवधिसम्म नेपालको वैदेशिक व्यापारमा भारतको अंश ४० प्रतिशतभन्दा तल झरिसकेकोमा त्यसयता भारतसँगको निर्भरता बढ्दै गएको व्यवसायीहरू बताउँछन् । सन् १९९६ को नेपाल–भारत वणिज्य सन्धिपछि जसरी नेपालमा भारतीय बहुराष्ट्रिय कम्पनी फस्टाए, त्यसरी नै नेपाली उद्योगहरूले फाइदा लिन नसकेको अनुभव उद्योगीहरूको छ ।
‘सरकारले बहुराष्ट्रिय कम्पनीलाई सहज हुने गरी कच्चा पदार्थ र प्याकेजिङ मेटेरियलमा भन्सार सहुलियत मात्र दिएन, तयारी वस्तु आयातमा उच्च दरको भन्सार लगायो,’ एक उद्योगीले भने ।

पारस्परिक सहुलियतमा निकासीको उद्देश्यले खुलेका स्वदेशी उद्योगको उत्पादन निकासीमा भारतले गुणस्तर र परिमाणात्मक बन्देजका नाममा अवरोध लगाउँदा लामो समय चल्नै सकेनन् । भारतीय बजारलाई लक्षित गरेर नेपाली लगानीकर्ताले खोलेका घ्यू, तेल, तामा, जिंकलगायत उद्योगमा ४/५ वर्षमै ताला लागेको ती उद्योगका सञ्चालकहरू बताउँछन् । पछिल्लो समय भारतले प्रशोधित पाम आयलको आयात रोकेपछि नेपाली उद्योगीहरू लगानी डुब्ने चिन्ताले पिरोलिएको र सरकारले समेत निकासी खुलाउन प्रभावकारी पहल नगरेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटा बताउँछन् । भारतको तुलनामा २० प्रतिशत कम लागतमा उत्पादन गर्न सके मात्र निकासी सम्भव हुने दाबी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । ‘एक त उत्पादन नै सीमित भयो । मूल्य र गुणस्तर पनि अनुकूल नहुँदा निकासी व्यापार बढ्न सकेन,’ सहसचिव ढकालले आर्थिक अभियानसित भने । वाणिज्य सन्धियता स्वदेशी उद्योगको अधोगति शुरू भएको बुझाइ सैंजुको छ । ‘द्विपक्षीय व्यापारका अन्य महत्त्वपूर्ण पक्षभन्दा पारस्परिक विषयमा मात्र केन्द्रित हुँदा स्थानीय उद्योग मारमा परे । यसको समीक्षा जरुरी छ,’ उनले भने ।

पछिल्लो समय पारस्परिक व्यवस्थाको पुनरवलोकनमा भारतीय पक्ष सहमत भएको र त्यसको परिणाम देखिन केही समय लाग्ने सैंजु बताउँछन् । भारतले आफ्ना उद्योगलाई व्यापक मात्रामा अनुदान दिइरहेकाले पनि नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको बुझाइ उनको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Sushil

[Aug 23, 2020 02:37am]

In my opinion either increase tax to decrease import from india or encourage goods to import in india to decrease trade deficit. By in this situation we need proper rule regulation and technical/ skilled to control import from india.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)