काठमाडौं । नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भारतमा काम गर्ने नेपालीमार्फत वर्षेनि ठूलो धनराशी नेपाल भित्रिन्छ भन्ने आम बुझाइ छ ।
दुई देशबीचको खुला सिमाना, सांस्कृतिक निकटतालगायत कारण लामो समयदेखि रोजगारीका लागि नेपालीहरूको रोजाइमा भारत पर्दै आएको पनि छ ।
तर, भारतीयहरूका लागि पनि नेपाल रोजगारीको प्रमुख थलो बन्दै आएको छ । वास्तविकता के भने भारतबाट नेपालीले भित्र्याउने रकमभन्दा भारतीय कामदारले नेपालबाट लैजाने रकम तीन गुणा बढी छ ।
विश्व बैंकको बाइल्याटरल रेमिट्यान्स म्याट्रिक्सअनुसार सन् २०१७ मा भारतबाट १०२ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण) नेपाल भित्रिँदा नेपालमा काम गर्ने भारतीयमार्फत ३०२ अर्ब रुपैयाँ बराबरको विप्रेषण भारत गयो । भारतका लागि विप्रेषण आर्जन गर्ने प्रमुख १० देशमध्ये नेपाल आठौं स्थानमा छ ।
भारतबाट आउने विप्रेषणमा भारतीय गोर्खा सैनिकमा कार्यरत ३५ हजार नेपाली र १ लाख ८० हजार पेन्सनधारी गोर्खाहरूको रकम पनि समावेश छ । विप्रेषण आप्रवाहमा यी दुई क्षेत्रको कुल रकम ७२ अर्ब ५७ करोड रुपैयाँ घटाउने हो भने भारतबाट नेपालमा आउने विप्रेषण २९ अर्ब हाराहारी मात्र हुन आउँछ ।
सीमावर्ती भारतीय राज्यका नागरिकका लागि नेपाल लामो समयदेखि रोजगारीको महत्त्वपूर्ण गन्तव्य बन्दै आएको छ । भारतको भन्दा औसत वार्षिक ज्यालादर नेपालमा राम्रो हुँदा त्यहाँका कामदार यहाँ काम गर्न आउने गरेको नेपाली उद्योगीहरूको बुझाइ छ ।
भारतसँगको सीमासित जोडिएका नेपालका प्रमुख औद्योगिक कोरिडोरहरूमा भारतीय कामदारको संख्या उल्लेख्य छ । नेपाली उद्योगीहरूको भनाइमा नेपालमा १० लाखभन्दा बढी भारतीय कामदार विभिन्न क्षेत्रमा काम गर्छन् ।
नेपालकोे उद्योग क्षेत्रमा पनि भारतीय कामदारको उल्लेख्य उपस्थिति छ । त्यस्तै, इँटा, जुट, धागो, सिमेन्टलगायत क्षेत्रमा पनि धेरै भारतीय कामदारले रोजगारी पाएका छन् ।
प्रदेश १ मा रहेको मोरङ–सुनसरी कोरिडोरमा हजारौं भारतीय काम गर्छन् । यस कोरिडोरका अन्य उद्योगमा १० हजार भारतीय रोजगारीमा संलग्न रहेको अनुमान उद्योगीहरूको छ । कोरिडोरका जुट, धागो र फलाम उद्योगमा अधिकांश भारतीयले काम गर्छन् । यस्ता उद्योगका सञ्चालकले भारतीय कामदारलाई प्राथमिकता दिन्छन् ।
प्रदेश १ कै १०० ओटा इँटा उद्योगमा मात्र २० हजार भारतीयले रोजगारी पाएका छन् । इँटा उद्योगमा नेपालीहरू काम गर्न इच्छुक नभएकाले यस्ता उद्योग भारतीय कामदारको भरमा चलेको मोरङ उद्योग संघका अध्यक्ष भीम घिमिरे बताउँछन् ।
यस औद्योगिक कोरिडोरबाट मात्रै भारतीय कामदारले वर्षमा ६ अर्ब रुपैयाँभन्दा बढी रकम भारत लैजाने गरेका छन् । करीब १ हजार उद्योग प्रतिष्ठान रहेको बारा–पर्सा औद्योगिक कोरिडोरमा पनि १२ हजारभन्दा बढी भारतीयले रोजगारी पाएको अनुमान श्रम तथा रोजगार कार्यालय वीरगञ्जको छ । कुल ५० हजार रोजगारी रहेको यो कोरिडोरका उद्योग प्रतिष्ठानमा २५ प्रतिशत कामदार भारतीय छन् । निर्माण सामग्री र खाद्यान्न उत्पादनको केन्द्र मानिएको बारा पर्साका अधिकांश यस्ता उद्योगमा भारतीय काममा लगाइएका छन् ।
संघीय राजधानी काठमाडौंका उद्यम र व्यवसायमा भारतीय कामदारको उल्लेख्य उपस्थिति छ । नेपालको सुनचाँदी व्यवसायमा ७५ प्रतिशत कालीगढ भारतीय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
सामान्य अवस्थामा यी भारतीय कालीगढमार्फत वार्षिक २० अर्बभन्दा बढी रकम भारत जाने गरेको बताउँछन्, महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य ।
नेपालमा कति भारतीयले काम गर्छन् भन्ने तथ्यांक भने सरकारसित छैन । भारतीय कामदारलाई श्रमस्वीकृति लिनुपर्ने बाध्यता नभएकाले भारतबाट आएर काम गर्नेको अभिलेख सरकारसित नभएको हो । ‘माथिल्लो तहमा काम गर्ने र बढी तलब सुविधा खानेहरूले आम्दानीको स्रोत देखाउन श्रमस्वीकृति लिए पनि कम तलबमा काम गर्नेहरूले स्वीकृति लिएका छैनन्,’ श्रम तथा रोजगार कार्यालय वीरगञ्जका प्रमुख सुन्दर श्रेष्ठले आर्थिक अभियानसँग भने ।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका कारण भारतीयका लागि श्रम स्वीकृति अनिवार्य नभएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अधिकारीहरू बताउँछन् । सन्धिको धारा ६ मा नेपाल र भारत दुवै सरकारले एकअर्काका जनतालाई औद्योगिक, आर्थिक विकास र त्यस्तो विकाससम्बन्धी छूट र ठेक्कामा भाग लिन राष्ट्रिय व्यवहार गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, धारा ७ मा दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका एकअर्का देशका जनतालाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, घुमफिर गर्न र अरू त्यस्तै प्रकारका समान विशेषाधिकारको व्यवस्था गर्ने व्यवस्था छ ।
श्रम ऐन २०७४ ले पनि यही सन्धिलाई लक्षित गरी ‘स्वीकृति लिन नपर्ने अवस्थामा बाहेक विदेशी नागरिकले श्रमस्वीकृति लिनुपर्ने’ प्रावधान राखेको छ । ऐनको दफा २३ (२) मा कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताअन्तर्गत श्रमस्वीकृति लिनु नपर्ने अवस्थामा बाहेक नेपालमा काम गर्ने विदेशी नागरिकले तोकिएबमोजिम श्रमस्वीकृति लिनुपर्ने उल्लेख छ ।
सन्धिको प्रावधान देखाएर भारतले श्रमस्वीकृति अनिवार्य नगर्न दबाब दिँदै आएको छ । नेपाली कामदारको हित संरक्षणका लागि सन्धिका प्रावधान पुनरवलोकन गरिनुपर्ने मत विज्ञहरूको छ । नेपाल भारत बीचका सन्धिसम्झौताको पुनरवलोकनका लागि बनाइएको विज्ञ समूहमा पनि यो विषयमा छलफल नभएको होइन, तर सुझाव प्रतिवेदन अहिलेसम्म भारतले आधिकारिक रूपमा बुझेको छैन । नेपालले रोजगारीमा भारतीयलाई पारस्परिक र समान व्यवहार गर्न नसक्ने धारणा नेपाली अधिकारीहरू बताउँछन् । ‘यस विषयमा नेपाल र भारत सरकारी स्तरमा गहन छलफलको खाँचो छ । नेपालले भारतीय नागरिकलाई रोजगारीमा राष्ट्रिय व्यवहार दिन नसक्ने कुरा स्पष्टसँग राख्नुपर्छ,’ एक पूर्वसचिवले अभियानसँग भने ।
Thank you for sharing this important information with us. Every Nepali should know this important information.
यो त औपचारिक रेमिट्यान्सको आंकडा हुनपर्छ, अझ अनौपचारिकको त रेकर्ड नै कहाँ पाउनु र ? के सिमापारिबाट आएका मित्रहरुले गर्न सक्ने काम हाम्रा आफ्नै भाइ-बहिनीहरुले चाहिं गर्नै नसक्ने हो त ? विदेशमुखी सर्वसाधारण आफैंले र नीति-निर्मातावर्गले वर्तमानमा व्याप्त भ्रम चिर्दै सुधार गर्नुपर्ने समय आइसकेको छ, बरु ढिलो हुँदैछ ।
GAJAB KO DESH XA HAMRO ARU DESH MA AAFNO NAGARICK LAI DHERAI SALARY DINXA VHANE NEPAL MA JUST OPPOSITE.IN NEPAL IF NEPALESE WORK IN FACTORY IN SAME FIELD THEN HE WILL RECEIVE NRS20000 BUT INDIAN WORK IN SAME THAN HE WILL RECEIVE INR:20000. I COULD UNDERSTAND WHY TOO MUCH DIFFERENCE BETWEEN NEPALESE AND INDIAN.YO MERO NITANTA BHOGAHI HO.