ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुम्लाको छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा

२०७७ फागुन, १०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

फागुन १०, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो ।

मन्त्रालयले देशभरका २०० स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० ओटा गन्तव्य छानेको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ । 

पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथा सम्वर्द्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । 

पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले रु ६० लाख र मन्त्रालयले रू. एक करोड ४० लाख लागत साझेदारी गर्नेछन् । दुई हजार ८५० मिटर अग्लो स्थानमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्छ । 

सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ शुरु गरिएको यहाँका स्थानीयवासी बताउँछन् । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो । त्यो समयमा बालबालिका र बूढाबूढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रहेको थियो । 

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ । 

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छाडिएको स्थानीयवासी अमर बुढाले बताए । पछिल्लो समयमा सो जिउलोमा मार्सी धान रोप्न थालिएको वडाध्यक्ष बिर्खराम बोहोराले बताए ।

गाउँपालिकाले छुमचौरलाई पर्यटकीय गन्तव्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । यहाँको २०० रोपनी क्षेत्रफल जमिनमा धान रोप्ने गरिएको छ । मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तह छनोट गरेको हो । 

पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्नसक्ने भन्दै छुमचौर जिउला संरक्षण र प्रवर्द्धनका लागि झण्डै रू. आठ करोडको डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) बनाएकोे प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुङ्डुल चैत्य र सिञ्जा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेका थिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)