जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको हो । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, ७ वटै स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताए ।
नयाँ सिफारिस गरिएका सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएमध्येमा पर्छन् । यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो । सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए । रासस