फागुन २३, रोल्पा । रोल्पाको माडी गाउँपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी घर्तीगाउँ उपशाखाको भवन निर्माण गरिएको छ ।
२०६५ सालदेखि पश्चिम रोल्पाको मानव सेवामा सक्रिय रेडक्रस घर्तीगाउँ उपशाखाको भवन निर्माणका लागि माडी गाउँपालिकाले १६ लाख बजेट विनियोजन गरेको थियो । यस्तै फिनिस रेडक्रसको सहयोगमा सोही गाउँपालिकामा सञ्चालित एकीकृत सामुदायिक उत्थानशील परियोजनाको साढे ४ लाखले भवनको शौचालय निर्माण र घेराबार गरिएको छ ।
रेडक्रसको सेवाबाट प्रभावित भएर गाउँपालिकाले दुई आर्थिक वर्षमा बजेट विनियोजन गरी भवन निर्माणमा सहयोग गरेको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले बताए । उपशाखाको आफ्नै स्टोर भवन नहुँदा यसअघि विपद् परेको बेला उद्धार सामग्री र राहतका लागि जिल्ला शाखामा सिफारिस गर्नुपर्ने बाध्यता रहेको उपाशाखालाई अब भने सहज हुने भएको छ ।
यस्तै, रेडक्रसद्वारा सञ्चालित एकीकृत सामुदायिक उत्थानशील परियोजनाको प्रशासनीक काममा पनि भवनले महत्वपूर्ण सहयोग पुग्ने परियोजना अधिकृत कमला राईले बताइन् ।
परियोजनाले माडी गाउँपालिकामा स्वास्थ्य, सरसफाई, खानेपानी र आयआर्जनको क्षत्रमा काम गर्दै आएको रेडक्रस घर्तीगाउँ उपशाखाका सभापति मानबहादुर घर्तीले जानकारी दिए ।