ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुम्लामा निरन्तर हिमपात : जनजीवन कष्टकर, हवाई उडान अवरुद्ध

२०७७ फागुन, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

फागुन २४, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमवारदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतवार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै सोमवार बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । 

उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् । 

जिल्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिहेको स्थानीयवासी शंकर रावलले जानकारी दिए । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताए । 

बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ । फागुनमा हिमपात हुँदा तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढेपछि यहाँका स्थानीयवासी बाक्लो कपडा लगाउनुका साथै न्यानो भएर बसेका छन् ।

अग्लो स्थानमा हिमपात धेरै भएको छ । मानिस हिउँमा खेल्नका लागि घरबाहिर निस्कन थालेका छन् । यो वर्ष गतिलोसँग हिमपात नभएपछि चिन्तामा रहेका किसान भने खुशी देखिएका छन् । खडेरी परेका बेला हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातले कात्तिके बालीनालीका लागि राम्रो हुने भएको छ । यो पटक परेको हिमपातले खनजोत गर्न किसानलाई सजिलो हुने भएको छ ।

हिमपात रोकिए लगत्तै यहाँका किसानले अब खेतबारीमा कात्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमीलगायत बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन । 

हवाइ उडान अवरुद्ध
सोमवार बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात अवरुद्ध भएको छ । हवाई उडान अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन सकेको छैन । 

उडान अवरुद्ध हुँदा सिमकोटमा व्यवसाय गर्ने पसलेका सामान, निर्माण व्यवसायीका सामग्री ढुवानी ठप्प रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रु हिमपातका कारण यतै रोकिएका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)