जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माणसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले बताए । यो आर्थिक वर्षमा स्थानीयले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई स्याउको ‘हब’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ ।
प्रतिबिरुवा ७० रुपैयाँमा खरिद गरेर कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको वडा १, २, ३, ४, ५, ६, ७ र ९ मा बिरुवा वितरण भएको हो । मागका आधारमा स्याउका बिरुवा वितरण गरिएको छ ।
गाउँपालिकामा दुई ठाउँबाट सडक निर्माण कार्य जारी छ । सडक निर्माण कार्य सम्पन्न भएसँगै स्याउका बिरुवाले फल दिन सुरु गर्ने सम्भावना बढेको स्थानीय समीर शाहीले बताए ।
त्रिवेणी र जुम्लाबाट एकै साथ सडक निर्माण सुरु भएसँगै स्थानीय आफूले उत्पादन गरेको स्याउले बजार पाउने भन्दै खुसी भएका छन् । त्यस्तै, एक हजार ओखरका बिरुवा वितरण कार्य चलिरहेको छ ।
डोल्पा स्याउ उत्पादनको राम्रो जिल्ला मानिन्छ । यहाँ उत्पादन भएका स्याउले बजार नपाउँदा कृषक पीडित हुँदै आएका थिए । सडक विस्तारपछि देशका विभिन्न ठाउँमा लिएर डोल्पाली स्याउले बजार पाउने भएसँगै स्याउ लगाउने कृषकको संख्या बढेको छ ।
खाद्यान्न उत्पादन कम हुने डोल्पामा स्याउ उत्पादन भने राम्रो हुँदै आएको छ । रासस