यस आर्थिक वर्षको सुरुमै गत साउन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको अजोड इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरे पनि लाभांशसम्बन्धी कुनै पनि निर्णय गरेको छैन ।
कम्पनीको माघ २१ गतेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी कुनै निर्णय नगरेको हो । यस कम्पनीले सर्वसाधारणमा रु. ३० करोड बराबरको शेयर जारी गरी चुक्ता पुँजी रु. १ अर्ब कायम गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रु. ६ करोड ६३ लाख र बीमा कोष रकम रु. ८ करोड २७ लाख छ ।
कम्पनीले यो अवधिसम्म रु. ४ करोड ६ लाख खुद नाफा गरेको छ । फागुन २६ गते कम्पनीको अन्तिम शेयर मूल्य रु. ६८० कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन आकृति बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बियरिस प्रवृत्तिमा प्रवेश गर्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३९ दशमलव ४७ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव १२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बुधबारको शेयर मूल्य रु. ६८० देखि बजारको अवस्था पबिवर्तन भई मूल्य सस्तिए रु. ६७४ मा टेवा पाउने र महँगिए रु. ७१० मा प्रतिरोध पाउने देखिन्छ ।