समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आँबुखैरेनी रेस्टुराँ एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे सभा बोलाएको हो । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।
सजिलो लघुवित्त वित्तीय संस्थासँगको मर्जरपछि संस्थापक शेयर र सर्वसाधारण शेयरको पूँजी अनुपात मिलान गर्दा नपुग भएको ६ लाख कित्ता सर्वसाधारणतर्पmको शेयर प्रिमियम थपेर सार्वजनिक गर्ने प्रस्ताव सभाका लागि तय गरेको छ ।
समिट र सजिलो लघुवित्त एक भई गत असोज ६ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । समिट लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश दिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी रू. ३९ करोड ४३ लाख रहेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १४ करोड ४७ लाख ६५ हजार कायम भएको छ । यस वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले रू. ४ करोड २४ लाख ८१ हजार खुद नाफा गरेको छ । पछिल्लो कारोबार चैत १३ गते कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार ३५७ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्रागन फ्लाई डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने वा बढ्नेमा अन्योल रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव ५५ बिन्दुमा छ ।
यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १७ दशमलव ७४ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा नजिकिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयर मूल्य रू. १ हजार ३५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रू. १ हजार ३१७ मा टेवा पाउने र महँगिए रू. १ हजार ३७९ मा प्रतिरोध पाउने देखिन्छ ।