वौशाख १९, रुकुम । रुकुम उद्योग वाणिज्य संघको बेरुजु करीब २१ लाख रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७३/ ७४ देखि विभिन्न व्यक्तिले संघबाट २० लाख ८५ हजार रुपैयाँ लिएर फस्र्यौट गरेका छैनन् । संघको १३ औं वार्षिक साधारणसभामा पेस गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/ ०७५ भित्र सबै बेरुजु असुल उपर गर्नुपर्ने उल्लेख थियो ।
तर त्यसको तीन वर्ष बित्दासमेत कार्य समितिका सदस्यले पेस्की लिएको ९ लाख ७५ हजार रुपैयाँ फिर्ता गरेका छैनन् ।त्यस्तै करदाता सेवा शुल्क बापतको १२ हजार रुपैयाँ र एक गाउँ, एक उत्पादन कार्यक्रमको ३ लाख २८ हजार रुपैयाँ पनि बेरुजु रहेको छ ।
कृषि मन्त्रालयले उद्योग वाणिज्य महासंघ मार्फत एक गाउँ, एक उत्पादन कार्यक्रमका लागि बजेट पठाएको थियो । आर्थिक वर्ष २०७४/ ०७५ मा ७ लाख ६८ हजार रुपैयाँ पनि बेरुजु देखिएको छ ।
संघको विवाद मिलाउन बनेको समितिका सदस्य डिलबहादुर केसीले उक्त प्रतिवेदन साधारण सभामा पेस गरेका थिए । संघले यसअघि तोकेको विसं २०७५ असार २२ गतेको साधारण सभा विवादपछि स्थगित भएको थियो ।
आर्थिक अनियमितता भएको भन्दै व्यवसायीले साधारणसभा अघि बढ्न नदिएपछि विशेष समिति गठन गरिएको थियो । पहलबहादुर खड्का संयोजक रहेको समितिले साधारणसभा गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।