ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना महामारीबीच यार्सा संकलन शुरू

२०७८ बैशाख, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

बझाङ । कोरोना महामारीबीच बझाङमा यार्सा संकलनका लागि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । जिल्लाका साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडीबुटी हो । यार्सा संकलनको याम शुरू भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् ।     

गतवर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा संकलकको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि संकलनमा रोक लगाएको थियो । स्थानीय तहले पनि यार्सा संकलनमा रोक लगाएका थिए । यस वर्ष भने कुनै सूचना जारी गरिएको छैन । जिल्लामा दिन प्रतिदिन संक्रमित बढ्दै गए पनि कुनै निकायको ध्यान गएको छैन । यार्सा संकलन गरिने पाटनमा हिउँ पग्लिन थालेपछि संकलक वन क्षेत्रमा जाने क्रम बढेको बुंगल–२ का आनन्द धामीले बताए ।

वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मङ्सिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी खोज्न मानिस लेकतिर जान्छन् । यस समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करीब १५ हजार पाल हाल्छन् । हरेक वर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस लेकतिर जाने गर्छन् । ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला हजारौं मानिस लेकतिर जाँदा झन् जोखिम हुने देखिन्छ ।

गतवर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले संकलनमा रोक लगाइए पनि यस वर्ष संकलन रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताए । ‘विभागबाट कुनै पत्राचार भएको छैन । सरकारले पनि यसबारे कुनै निर्णय गरेको छैन,’ उनले भने, ‘विभागको निर्देशनअनुसार संकलन कार्यमा रोक लगाइनेछ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)