बझाङ । लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ ।
लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।
यो वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका¬ १ का किसान अमृत शाहीले बताए ।
‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो । त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले नष्ट भयो’’, उनले भने ।
यस वर्ष आउन सक्ने खाद्य संकटबाट भोकमरी हुन नदिन खडेरीपीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए ।
प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
अकासे पानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदे बाली लगाइएकामा ६ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले ९ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।
जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ ।
जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई खाद्य संकट हुने विष्टले बताए ।
यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस