ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डोल्पाको सालदाङमा चामल अभाव

२०७८ बैशाख, २६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वैशाख २६, डोल्पा । शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मंसिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन । 

ठेक्का सम्झौता भएको ६ महीना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थानीयवासीले बताएका छन् । कम्पनीले गत वर्ष साल्दाङका लागि एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । 

खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६०० क्विन्टल खाद्यान्न मात्र पुगेको छ । 

उक्त सेवाले छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो । दुई स्थानीय तहको चामल पुगे पनि साल्दाङमा भने अहिलेसम्म पुगेको छैन । गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा ७०० क्विन्टल र डोल्पोबुद्धको धोमा ८७५ क्विन्टल चामल पुगेर वितरण भइसकेको लिमिटेडले जानकारी दिएको छ । 

चिसो र हिमपातका कारण कम्पनीको चामल पुर्‍याउन केही समय ढिला भएको लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डेले बताए । ‘चामल दुनै आएर थन्किएको छ , ढुवानी सेवालाई छिटो लिन आग्रह गरिएको छ’, उनले भने । 

केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ । माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयवासीले सस्तो मूल्यमा चामल पाएका छन् ।

स्थानीयवासीलाई यसअघि प्रतिक्विन्टल रू. २० हजार तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो । कम्पनीले प्रतिक्विन्टल जिरा  मसिनो चामल रू. सात हजार र सोना चामल रू पाँच हजार ६०० मा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए ।

कोटाअनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसितुन्डुप गुरुङले बताए । कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि माथिल्लोे डोल्पामा दुई वर्षदेखि चामल पुग्न सकेको थिएन । विगतका वर्षमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो । यो वर्ष सुर्खेत–दुनै हुँदै चामल ढुवानी गरिएको थियो । 

खाद्यान्न उत्पादन कम हुने उपल्लो डोल्पा बाहिरबाट ल्याइएको खाद्यान्नमा निर्भर हुनुपर्दछ । केही हुने खानेले दुनैमा आएर खच्चड, घोडा र चौँरीमा खाद्यान्न लैजाने गरे पनि अधिकांश निम्न वर्गका स्थानीयवासीहरु समस्यामा पर्ने गरेका छन् । सामानको मूल्यभन्दा ढुवानी खर्च महँगो हुने गर्छ । 

चिसो मौसममा तल्लो क्षेत्र झरेका सबै सर्वसाधारण अहिले उपल्लो डोल्पामा जाँदा खाद्यान्नको माग व्यापक बढेको हो । उपल्लो डोल्पामा खेतीपातीको मौसम भएकाले यहाँका सर्वसाधारण खाद्यान्न आपूर्तिका लागि गुहार लगाइरहेका छन् । खडेरीका कारण हिउँदेबाली उत्पादन नभएको यहाँ आयातित अन्नमा यो पटक धेरै भर पर्नुपरेको वडा नं ४ का तसी गुरुङले बताए । 

सिँचाइ सुविधा नभएको उपल्लो डोल्पामा हिमपात भएमा मात्र खेतीपाती गर्न सहज हुने गुरुङको भनाइ छ । आलु, उवा र फापर उपल्लो डोल्पामा उत्पादन हुने गर्दछ । उपल्लो डोल्पामा खाना पकाउने दाउराको समेत अभाव छ । 

कोटा बढाउन माग 
अहिले निर्धारण गरिएको खाद्यान्नको कोटाभन्दा दोब्बर कोटा बढाउन स्थानीयवासीले माग गरेका छन् । विकटता र जोखिम देखाएर तोकिएको ठाउँमा सामग्री नपुर्‍याई बाटोमै छाडी भाडा असुल्ने गरेको उपल्लो भोट क्षेत्रका सर्वसाधारणको गुनासो छ । 

तीन वर्षअघि आयोडिनयुक्त नुन तेन्जेमा छाडेर भाडा असुलेको नमिठो पीडा उपल्लो डोल्पालीसँग छ । पहुँचका भरमा ठेक्का लगाउने तर तोकिएको काम नगरी भुक्तानी लिने गरेको स्थानीयवासीको आरोप छ । खाद्यान्न उत्पादन नहुने ठाउँमा सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । 

खाद्यान्न विक्री केन्द्र नभई डिपो नै राखेर संख्या बढाउनुपर्ने उनीहरुले बताएका छन् । अहिले कर्मचारीको रोहवरमा सीमित मात्रामा चामल लिएर विक्री गरी फर्कने गरिएको छ तर कार्यालय नै राखेर चामल आपूर्ति तथा वितरण गर्नुपर्ने उपल्लो डोल्पालीको माग छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)