डोल्पा । कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटन बन्द गर्ने निर्णय गरेको हो ।
मुलुकमा कोराना संक्रमण तीव्र रूपमा फैलिएकाले यार्सा पाटन पुग्ने दसौं हजार मानिसको जमघट हुँदा ज्यान जान सक्ने खतरा औंल्याइएको छ ।
जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिलगायत सरोकारवालाको भेलाबाट यस वर्ष पनि जिल्लाका सम्पूर्ण यार्सापाटन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए । बहुमूल्य जडिबुटी यार्सा अवैध चोरी–निकासी रोक्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर पाटन भित्रने सम्पूर्ण नाका बन्द गर्ने निणर्य भएको प्रजिअ ढकालको बताए । रासस