वीरेन्द्रनगर (अस) । कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्णाली प्रदेश सरकारको काम कारबाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिने उद्घोष गरेका छन् । सोमवार पदबहाली गर्दै मन्त्री शर्माले कर्णालीका जनातको जीवन रक्षा सरकारको पहिलो काम पहिलो भएको समेत बताए ।
‘कर्णालीको विकासका लागि उपलब्ध स्रोत–साधनको सदुपयोग गर्दै समुचित ढंगबाट बजेट बाँडफाट, कोरोना महामारी बढ्दै गएकाले अस्पताल निर्माण, त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापनका साथै कर्णालीको आवश्यकता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण गरी कार्यान्वयनमा लैजानेछु,’ उनले भने । साथै भौतिक पूर्वाधार निर्माण र मानवीय विकास विकासलाई सँगसँगै लगिने र आगामी आवको बजेट कार्यान्वयन हुनेगरी विनियोजन गर्ने उनले बताए ।