सुर्खेत (अस) । कर्णालीका पत्रकारको हक, हितसँगै आपत–विपद्मा परेका बेला सहयोगार्थ एक करोड रुपैयाँ बराबरको ‘पत्रकार कल्याण कोष’ स्थापना गरिने भएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सोमवार बसेको बैठकले कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ उक्त कोषको स्थापना गर्न लागेको हो ।
महासंघले कोष स्थापनामा सहयोग गर्न उद्योग, व्यवसायीसँगै तीन तहका सरकारसँग आग्रह गरेको छ । महासंघका प्रदेश अध्यक्ष देवीराम देवकोटाले कोषबाट तत्कालीन रूपमा कोरोना महामारीबाट प्रभावित पत्रकारलाई राहत तथा उद्धारका साथै दीर्घकालमा विभिन्न समस्याबाट पीडित पत्रकारलाई सहयोग गरिने बताए । पत्रकारलाई कोरोनाविरुद्धको अभियानमा ‘फ्रन्टलाइनर’ घोषित गरी उनीहरूको स्वास्थ्य सुरक्षाका लागि उचित प्रबन्ध गर्न बैठकले राज्यको ध्यानाकर्षण गराएको उनको भनाइ छ । उनका अनुसार बैठकले पत्रकारलाई आपत्कालीन उद्धार तथा उपचारमा सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोकेको छ ।