कम्पनीले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि जेठ २ गते गर्ने भनिएको वार्षिक साधारणसभा हाललाई स्थगित गरिएको छ । यस वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा वैशाख १६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । चालू आर्थिक वर्षको ९ महिनासम्म प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षभन्दा साढे ४० प्रतिशतभन्दा बढी रु. १२ करोड ७३ लाख ११ हजार खुद नाफा गरेको छ ।
६० प्रतिशत हकप्रद शेयरमार्फत पुँजी वृद्धि गरी रु. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि यस वर्ष १४ प्रतिशतभन्दा बढी रु. २६ करोड १४ लाख ५१ हजार कायम भएको छ ।
यस वर्ष कम्पनीले रु. १ अर्ब ५ करोड ६८ लाख ७५ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने रु. ४८ करोड ४५ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको छ । पछिल्लो कारोबार दिन कम्पनीको अन्तिम शेयर मूल्य रु. ८२१ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा स्पिनिङ टपजस्तो देखिने यो मैनबत्तीले बजारमा कम्पनीको मूल्य अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५१ दशमलव ३७ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४ दशमलव ६२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलबारको शेयर मूल्य रु. ८२१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७९३ मा टेवा पाउने र महँगिए रु. ८३९ मा प्रतिरोध पाउने देखिन्छ ।