डोटी । डोटीको शिखर नगरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । वर्षौं पहिलेदेखि खानेपानीको समस्या भएको उक्त गाउँमा नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत खानेपानीको व्यवस्था मिलाएको हो ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा ३६ लाख ३४ हजार ८८८ रुपैयाँ लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको नगरपालिकाले बताएको छ । आयोजना निर्माण भएसँगै खानेपानी अभावको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।
चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी डिल्लीराज फुलाराले बताए । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् । गाउँको बस्तीभन्दा २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानी ट्यांकीमा भण्डारण गरी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताए । उनका अनुसार आयोजनाअन्तर्गत गाउँभर १२ धारा निर्माण गरिएका छन् । रासस