कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. १ अर्ब ५६ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ४८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ६७ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रु. ८२ करोड ८७ लाख रहेको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि र खर्च नियन्त्रण गरेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ११ प्रतिशत र सञ्चालन नाफा ४७ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा कम्पनीले रु. ७९ अर्ब ९० करोड ७१ लाख निक्षेप संकलन गरेर रु. ६८ अर्ब ५७ करोड ८४ लाखभन्दा बढी कर्जा लगानी गरेको हो ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १८ दशमलव ७३ रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २७ दशमलव ८७ पुगेको हो ।
चुक्ता पुँजी रु. ४ अर्ब ८१ करोड १५ लाखभन्दा बढी रहेको कम्पनीले जगेडा कोषमा रु. १ अर्ब १ करोड ३२ लाख ९४ हजार र रिटेन्ड अर्निङमा रु. ८३ करोड ५८ लाखभन्दा बढी सञ्चित गरेको छ । सोमवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ५१५ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७१ दशमलव २० बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १७ दशमलव ५७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
सोमवारको शेयर मूल्य रु. ५१५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४८० मा टेवा पाउने र महँगिए रु. ५२८ मा प्रतिरोध पाउने देखिन्छ ।