कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. २ करोड १४ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ३० दशमलव ६८ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष कम्पनीले यस अवधिसम्म रु. ३ करोड ९ लाख ६ हजार खुद नाफा गरेको थियो ।
यो वर्ष कुल आम्दानी ९८ प्रतिशत वृद्धि भए पनि कम्पनीको कुल सञ्चालन खर्च बढेकाले नाफामा असर परेको हो । गत वर्ष रु. ४ करोड ४ लाख २४ हजार कुल आम्दानी भएको कम्पनीको यो वर्ष रु. ८ करोड १ लाख ३४ हजार भएको छ ।
कम्पनीले रिडी खोला हाइड्रोबाट यो वर्ष रु. ४ करोड २८ लाख ७३ हजार बराबरको विद्युत् बिक्री आम्दानी गरेको छ भने बुटवल सोलारबाट रु. ३ करोड ७२ लाख ६० हजार आम्दानी गरेको छ ।
हाल चुक्ता पुँजी रु. ५८ करोड ५५ लाख ५८ हजार रहेको कम्पनीको जगेडा कोष रकम रु. २ करोड २४ लाख ६७ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी रु. ४ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रु. १०३ दशमलव ८४ रहेको छ । मंगलबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ३ ले बढेर अन्तिम मूल्य रु. ३७१ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्यमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ६७ दशमलव ८७ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ८८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलबारको शेयर मूल्य रु. ३७१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४४ मा टेवा पाउने र महँगिए रु. ४०८ मा प्रतिरोध पाउने देखिन्छ ।