ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जाको ब्याजदर महँगियो

२०७८ माघ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar यादव हुमागाईं

काठमाडौं । वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो ।

चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ ।

आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा कर्जाको ब्याजदर स्वतः वृद्धि हुन्छ भने नयाँ ऋणका लागि समेत बैंकहरूले उक्त आधारदरमा प्रिमियम निर्धारण गरी कर्जा दिने भएकाले कर्जा महँगो हुन्छ । बैंक तथा वित्तीय संस्थाको त्रैमासिक आधारदरका आधारमा कर्जाको ब्याजदर स्वतः घटबढ हुने व्यवस्था छ ।

बैंकहरूको वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव ६० प्रतिशत रहेको छ भने सबैभन्दा उच्च आधारदर सिभिल बैंकको ९ दशमलव ७४ प्रतिशत रहेको छ ।

चालू आवको शुरुआतदेखि नै बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभाव हुन थालेपछि बैंकहरूले बचतको ब्याजदर वृद्धि गर्दै लगेका थिए । यसको कारण पूँजीको लागत वृद्धि हुन गई आधारदरसमेत बढेको हो । बैंकहरूबीच निक्षेपको ब्याजदर भएको प्रतिस्पर्धामा राष्ट्र बैंकले हस्तक्षेप गरेपछि आधारदरसमेत एकल अंकमै सीमित भएको हो ।

बैंकहरूको बचतको ब्याजदर बढाउँदै १२ प्रतिशत पुर्‍याएपछि कात्तिकमा राष्ट्र बैंकले हस्तक्षेप गरी एकल अंकभित्र राख्न मौखिक दबाब दिएको थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले एकपटकमा १० प्रतिशतभन्दा बढीले ब्याजदर घटबढ गर्न नमिल्ने गरी निर्देशन नै जारी गरेको थियो । उक्त व्यवस्थाअनुसार ब्याजदर वृद्धि गर्दा पनि अहिले निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशतभन्दा मुनि कायम छ ।

कर्जाको ब्याजदर पारदर्शी तथा प्रतिस्पर्धी बनाउन राष्ट्र बैंकले २०६९/७० को मौद्रिक नीतिमा आधारदर लागू गर्ने घोषणा गरेको थियो । उक्त व्यवस्थाअनुसार २०६९ सालबाट वाणिज्य बैंकहरूमा तथा २०७० बाट विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा यो व्यवस्था लागू गरेको हो । आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफलसमेत जोडेर आधारदर तय गर्न पाउँछन् । बैंकहरूले मासिक रूपमा आधारदर गणना गरी महीना सकिएको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

बैंकहरूले कर्जाको ब्याजदर प्रकाशित गर्दा पनि आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गर्ने व्यवस्था कार्यान्वयन गर्छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने गरेको छ । यसैगरी सर्वसाधारणले पनि बैंकहरूको आधारदर हेरेर कर्जाको ब्याजदरमा बार्गेनिङ गर्ने थालेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)