ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकहरूको कर्जा अनुत्पादक क्षेत्रमा बढ्यो

२०७८ माघ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी उपभोगको क्षेत्रमा बढ्न थालेको छ । कोभिड–१९ को महामारीका कारण उत्पादन तथा पूर्वाधार विकासलगायतका क्षेत्रहरूमा कर्जाको माग घटेपछि अनुत्पादक क्षेत्रमा बैंकहरूको लगानी बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले उपभोग कर्जा ४४० प्रतिशतले वृद्धि भएको छ ।

बैंकले २०७७ पुस मसान्तसम्ममा उपभोगका लागि एक खर्ब १९ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए तर २०७८ पुसमा यस्तो कर्जा प्रवाह ८ खर्ब २३ अर्ब पुगेको छ । यो बैंकहरूको कुल लगानीको १७ दशमलव ६५ प्रतिशत हो । चालू आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४६ खर्ब ६७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले सुन तथा चाँदी, मुद्दती रसिद, ऋणपत्र धितोमा उपभोग्य कर्जा दिने गरेका छन् । यसैगरी, क्रेडिट कार्ड तथा अन्य शीर्षकमा पनि कर्जा लगानी गर्ने गरेका छन् ।

यीमध्ये सबैभन्दा बढी कर्जाको वृद्धिदर मुद्दती रसिद धितोमा १०९ प्रतिशत रहेको छ । रकमका आधारमा सबैभन्दा बढी कर्जा अन्य शीर्षकमा  प्रवाह भएको छ । यसमा बैंकहरूले ६ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी, ऋणपत्र धितोमा ७८ अर्ब ३९ करोड, सुनचाँदी धितोमा ४८ अर्ब ४० करोड, मुद्दती रसिद धितोमा ३६ अर्ब ८३ करोड, क्रेडिट कार्डमा ३ अर्ब ९ करोड रुपैयाँ लगानी गरेका छन् ।  

उपभोग्य शीर्षकमा कर्जा लिँदा ग्राहकहरूले प्रयोजन खुलाउनु पर्दैन । सर्वसाधारणले घरखर्चलगायत आफ्नो दैनिक आवश्यकता पूरा गर्नका लागि उपभोग्य कर्जा लिने गरेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय उद्योग व्यवसायमा कर्जा प्रवाह कम हुँदा उपभोग्य कर्जाको वृद्धि उच्च भएको बताए । ‘कोभिडको महामारीका कारण उत्पादनमूलक क्षेत्रमा कर्जाको माग घटेको छ,’ उनले भने, ‘यही कारण उपभोग्य कर्जाको वृद्धिदर उच्च देखिएको हो ।’

२०७८ पुसमा बैंकहरूले निर्माण क्षेत्रमा प्रवाह गरेको कर्जा भने घटेको छ । गत आवको तुलनामा यस क्षेत्रको कर्जा ४८ दशमलव शून्य ८ प्रतिशतले घटेको छ । यसबाहेक अन्य उत्पादकमूलक क्षेत्रको कर्जा वृद्धिदर समेत घटेको छ । २०७८ पुसमा कृषि क्षेत्रमा बैंकहरूको कर्जा प्रवाह १३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यसै अवधिमा कृषि कर्जाको वृद्धिदर २० प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनशील क्षेत्रमा प्रवाह भई यसबाट उत्पादन, रोजगारीका साथै समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउनुपर्ने भए तापनि उपभोग्यजस्ता अनुत्पादक क्षेत्रमा लगानी बढ्नु जोखिमपूर्ण भएको विज्ञहरूले औँल्याउँदै आएका छन् ।

गत सातामात्र  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा समेत उपभोग्य र अन्य शीर्षकमा बैंकहरूको लगानी उच्च रूपले बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यसले जोखिम निम्त्याउन सक्ने उल्लेख गरिएको छ । अनुत्पादक क्षेत्रमा बैंकहरूको कर्जा ह्वात्तै बढ्दा तरलता व्यवस्थापनमा समेत चाप परेको प्रतिवेदनले औँल्याएको छ ।

चालू आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एक खर्ब ६२ अर्ब ६८ करोड रुपैयाँले वृद्धि हुँदा ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सिबिफिन अध्ययनको संयोजन समेत गरेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल अर्थतन्त्रका सूचक नकारात्मक हुँदै गएको र बैंकहरूमा तरलता अभावको समस्यासमेत रहेकाले बैंकहरू जिम्मेवार भएर व्यवसाय विस्तार गर्नुपर्ने बताउँछन् ।

‘बैंकहरूले उपभोग्य र अन्य शीर्षकमा कर्जा प्रवाह गर्दा यसले वास्तविक अर्थतन्त्रको विकासमा योगदान गर्दैन,’ उनले भने, ‘यो वेला बैंकहरूले आफ्नो नाफा मात्र नहेरी अर्थतन्त्रलाई सहयोग पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)