ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतको फलेवासमा विदुरलाई पनि भत्ता वितरण

२०७८ फागुन, १  
गण्डकी प्रदेश र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

फागुन १, पर्वत । पर्वतको फलेवास नगरपालिकामा विदुरलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालिएको छ । फलेवास नगरपालिकाको निर्णय अनुसार मासिक एक हजारको दरले भत्ता वितरण गर्न शुरु गरिएको हो ।

यसै आर्थिक वर्षदेखि लागू हुने गरी फलेवासभित्र बसोबास गर्ने एकल पुरुष, एकल महिला, श्रीमान–श्रीमती बेपत्ता भएका महिला–पुरुषले मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउन थालेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार भत्ता वितरणका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरेको छ । नगरपालिकाले ५० देखि ६० वर्षसम्मका एकल महिलालाई पनि मासिक एक हजारका दरले रकम उपलब्ध गराएको छ । ६० देखि माथिल्लो उमेरका महिलालाई केन्द्र सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले उनीहरूलाई भने नसमेटिएको श्रेष्ठले बताए । 

तीन तहका कुनै पनि सरकारी कोषबाट तलब, भत्ता, सुविधा, पेन्सन वा अन्य भत्ता नपाउने नागरिकले मात्र यस्तो खालको सामाजिक सुरक्षा भत्ता पाउनेछन् । 

लाभग्राहीका लागि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता सुरुआत भएमा त्यस्ता व्यक्तिको भत्ता स्वतः हट्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ । महिला वा पुरुष विवाह नगरी बसेको अवस्थामा ५० वर्ष कटेको हुनुपर्ने व्यवस्था छ ।

फलेवास नगरपालिकाबाट भत्ता पाउने विदुर (एकल) पुरुष तथा एकल महिलाको संख्या ८५ छ । जसमध्ये विदुरको संख्या मात्रै ७० छ । न्यून आर्थिक अवस्था भएका एकल पुरुष तथा महिलालाई स्थानीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत केही राहत पुगोस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराइएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

पहिलो चरणमा हरेक वडामा घुम्ती सेवा कार्यक्रम सञ्चालन गरेर त्यस्ता महिला पुरुषलाई भत्ता वितरण गरिएको हो । हालसम्म फलेवास २, ३, ४, ५, ६, ७, ८, १० र ११ मा परिचयपत्र वितरण गरिएको छ । पहिलो चरणमा हरेक लाभग्राहीलाई नगद र अर्कोपल्ट बैंकिङ प्रणालीमार्फत भत्ता उपलब्ध गराइने नगरप्रमुख शर्माले बताए ।

नगरपालिकाले भत्ता दिन थालेपछि लाभग्राही खुशी भएका छन् । सहारा नभएकाहरुलाई भत्ताले जनजीवनमा सहजता हुने अपेक्षा गरेको नगरप्रमुख शर्माले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)