ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंकले कडाइ गरेपछि मुद्दती निक्षेप तथा शेयरबाट लगानी झिक्दै लघुवित्त

२०७८ फागुन, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

फागुन २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेप तथा शेयरबाट लगानी झिक्न थालेका छन्  । विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाले मुद्दती निक्षेप र शेयरबजारमा पैसा लगानी गर्न थालेपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको थियो । यस कारण लघुवित्त संस्थाहरूले लगानीमा रहेको रकम झिकेर कर्जा प्रवाह वृद्धि गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को पुससम्ममा लघुवित्तहरूको ९ अर्ब ९१ करोड रुपैयाँ शेयर लगानी तथा मुद्दती निक्षेपमा थुप्रिएको छ । अघिल्लो आवको तुलनामा लघुवित्तहरूको लगानी ३२ प्रतिशतले घटेको छ । गत पुससम्ममा लघुवित्तहरूको लगानी १७ अर्ब ३७ करोड रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा अनिवार्य रूपले लगानी गर्नुपर्ने रकम लिएर लघुवित्त संस्थाहरूले शेयरमा लगानी गर्नुका साथै बैंकमै मुद्दती निक्षेपमा राख्दै आएका छन्् । चालू आवको पुससम्ममा लघुवित्त संस्थाहरूको कुल लगानीमध्ये ७७ करोड सरकारी सुरक्षणपत्रमा रहेको छ । यसबाहेक मुद्दती निक्षेपमा ८ अर्ब २७ करोड थुप्रिएको छ । यसैगरी शेयर तथा डिबेन्चरमा ११ करोड ८४ लाख र अन्य लगानीमा ७५ करोड १७ लाख रुपैयाँ रहेको छ ।

विपन्न वर्गलाई लगानी गर्नुपर्ने रकम लघुवित्त संस्थाहरूले मुद्दती निक्षेपमा राखेर ब्याज खाने र शेयरमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएपछि राष्ट्र बैंकले यसमा कडाइ गर्न थालेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७८ मार्फत लघुवित्त संस्थाहरूलाई शेयर लगानीमा रोक लगाइसकेको छ ।

निर्देशनअनुसार लघुवित्तले संगठित संस्थाको शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यसैगरी लगानीमा रहेको शेयर विक्रीका लागि भने २०७९ असारसम्मको समय दिएको छ । यसैगरी लघुवित्तहरूलाई बैंकमा मुद्दती निक्षेप राख्नसमेत राष्ट्र बैंकले रोक लगाइसकेको छ ।

लघुवित्तले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोषहरूबाहेकको रकम बैंक तथा वित्तीय संस्थामा ३ महीनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको कडाइसँगै लघुवित्तहरूको लगानी भने घट्दै गएको हो । गत आवको पुससम्म लघुवित्तहरूको १५ अर्ब ३० करोड मुद्दती निक्षेपमा र १३ करोड शेयरमा लगानीमा रहेको थियो । 

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा गत कोभिड महामारीका कारण कर्जा प्रवाह गर्न नसक्दा लघुवित्तको पूँजी मुद्दती निक्षेपमा थुप्रिएको स्वीकार गर्छन् । ‘कोभिडका कारण कर्जा प्रवाह नहुँदा मुद्दती निक्षेप, शेयरमा लगानी भएको हो,’ शर्माले भने । शर्माका अनुसार अहिले अवस्था सामान्य रहेको र राष्ट्र बैंकको समेत कडाइले लगानी घटेर कर्जा वृद्धि भएको छ । अभियान दैनिकको प्रिन्ट संस्करणबाट

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)