काठमाडौं । चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा देशको व्यापारघाटा साढे ११ खर्ब नाघेको छ । बढ्दो शोधनान्तर घाटा र विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति लिए पनि आयात गरिएका सामानको मूल्यवृद्धि भएकाले व्यापारघाटा पनि उच्च भएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार फागुनसम्ममा रू. १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात हुँदा निर्यात भने रू. १ खर्ब ४७ अर्ब ७४ करोड बराबरको मात्र भएको छ ।
अत्यधिक आयातका कारण शोधनान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घटेपछि राष्ट्र बैंकले चालू आवको पुसबाट आयात निरुत्साहित गर्न विभिन्न नीति अघि सारेको थियो । पुसको पहिलो साता राष्ट्र बैंकले शृंगार तथा विलासिताका विभिन्न २० प्रकारका सामान आयात गर्न एससी खोल्दा व्यापारीले नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
यसैगरी माघ तेस्रो साता पुनः २७ प्रकारका सामान आयात गर्दा नगद मार्जिन राख्नुपर्ने प्रावधान लागू गरेको थियो । फागुन तेस्रो साता सुनको कोटा आधा घटाएर १० किलो मात्र आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
माघ महीनामा आयात थोरै खुम्चिए पनि फागुनमा पुनः वृद्धि भएको हो । फागुनमा १ खर्ब ६१ अर्ब बराबरको आयात भएको छ । माघमा १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको मात्र सामान आयात भएको थियो ।
आयातसँगै फागुन महीनामा निर्यात पनि वृद्धि भएको छ । फागुनमा नेपालबाट १६ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । माघमा नेपालबाट १२ अर्ब बराबरको मात्र निर्यात भएको थियो ।
आयात निरुत्साहित गरेका वस्तुको आयात परिमाण घटेको भए पनि अन्तरराष्ट्रिय बजारको मूल्यवृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा व्यापारघाटा उच्च भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
‘माघको आयात हेर्दा राष्ट्र बैंकको निरुत्साहित गरेका सामानको परिमाण घटेकै छ, फागुनमा पनि घटेको होला,’ उनले भने, ‘तर, अन्तरराष्ट्रिय बजारमूल्य र नेपाली मुद्रा कमजोर हुँदा आयात रकम भने माघको तुलनामा फागुनमा वृद्धि भएको हुनसक्छ ।’ फागुनको आयातलाई विश्लेषण गरेर राष्ट्र बैंकले थप कदम चाल्ने उनले बताए ।
फागुनमा सबैभन्दा बढी आयात हुनेमा डिजेल, पेट्रोल, ग्यास रहेको छ । यसैगरी मुख्य निर्यातको सामानमा भटमास, पाम, सूर्यमुखी तेल रहेका छन् ।
फागुन महीनासम्ममा ४३ अर्ब ४४ करोड ६७ लाख रुपैयाँ बराबरको क्रुड सोयविन आयात गर्दा ४१ अर्ब ४० करोड १७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
राष्ट्र बैंकले कोटा घटाएपछि सुनको आयात घटेको छ । माघ महीनामा ३ अर्ब १७ करोड रुपैयाँ बराबरको ४ सय ५४ किलोग्राम सुन आयात भएकोमा फागुन महीनामा २ अर्ब ९५ करोड रुपैयाँ बराबरको ४ सय १ किलो सुन आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।