चैत २३, काठमााडौं । विश्वभरीका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोब्स पत्रिकाले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।
गए राती सार्वजनिक सूचीअनुसार दक्षिण एशियामा भारत बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एशियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन ।
दक्षिण एशियाका अन्यमुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सकाअनुसार उनको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १ दशमलव ५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १ हजार ९२९ नम्वरमा छन् ।
चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहन्दै आएका छन् ।
प्रतिनिधि सभाका सदस्यसमेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । एउटा व्यक्तिमात्र धनी हुँदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउँदै चौधरीले देशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्दाको दिनमामात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताएका छन् ।
‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, उनले भने, ‘आफुसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै आफू राजनीतिमा आएको हुँ ।’
उक्त सूची अनुसार दक्षिण एशियाको अर्को मुलुक भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १६६ जना अर्बपति रहेका छन् भने चीनमा ५३९ जना अर्बपति रहेका छन् । सूचीको सबैभन्दामाथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७३५ रहेको छ ।
२९० दशमलव ३ अर्ब डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९ दशमलव ८ रहेको छ भने बर्नाड अर्नल र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् ।
भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो १० को सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी १० औंं नम्वरमा छन् ।