चैत २७, काठमाडौं । चोरी पनि अनेक खालका हुन्छन् । कसैले पैसा चोर्छन् । कोही भने होटलमा राखिएका न्यापकिन जस्ता सामान चोरेर राख्नेहरु पनि हुन्छन् । हालै भारतको बिहारमा भने फलामाको ६० फिट लामो पुल चोरी भएको छ । यो घटना बिहारको सासाराम जिल्ला भएको हो ।
सरकारी समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) ले प्रहरीलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो । पीटीआईका अनुसार आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिहरूले रोहतास जिल्लाको अमियावार गाउँमा पर्ने अर्राह नहरमाथि बनेको पुल चोरी गरेका हुन् । चोरी भएको पुलको वजन ५०० टन रहेको थियो । सोको पुलको निर्माण सन् १९७२ मा गरिएको थियो ।
सिंचाइ विभागको स्वामित्वको सो पुल प्रयोगबिहिन भएर बसेको बताइएको छ । चोरहरुले आफूहरू सिंचाइ विभागबाट आएको र पुल लैजान जान लागेको भनेपछि यसबारे गाउँका सर्वसाधारणहरुले सूचना दिएनन् ।
यस घटनाबारे उजुरी दर्ता गराएर अनुसन्धान थालिएको सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले बताएका छन् । जिल्लामा कबाडी फलाम किनबेच गर्नेहरुलाई पनि यसबारे सचेत गराइएको छ ।
पुल चोरिएपछि सामाजिक सञ्जालमा यस बारे विविध प्रतिक्रिया आइरहेको छ । पछिल्लो समय विश्वभर धातुको भाउ बढेको छ । फलामलगायत धातुको भाउ बढे पछि कबाडी धातु पनि महँगो भएका छन् । यस्तोमा जापानमा पनि देशका कयौं प्रिफेक्चरमा सडकको छेउछाउमा बारका रुपमा राखिएका गार्डरेल, सार्वजनिक धाराका टुटी, ढलका ढकन आदि चोरीको घटना बढेको भन्दै हालै समाचारहरु आएका थिए । एजेन्सी