वाशिङ्टन डीसी (अमेरिका) । पछिल्लो समय विश्वभर महँगी बढेको छ । अमेरिकामा पनि महँगी आकाशिएर ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ । महँगी बढ्दा आम अमेरिकीहरुको तलब प्रभावित हुन थालेको छ ।
मार्चमा सकिएको १२ महीनामा मुद्रास्फीति समायोजनपछिको कूल तलब भत्ता ३ दशमलव ७ प्रतिशतले घटेको शुक्रबार सार्वजनिक भएको रोजगारी लागत सूचकांकले देखाएको छ ।
सूचकमा आएको यो कमी सन् २००१ यताकै तीव्र कमी हो । सोही वर्षदेखि श्रम तथ्यांक विभागले मुद्रास्फीति समायोजनपछिको तलबभत्तासम्बन्धी तथ्यांक सार्वजनिक गर्न थालेको थियो ।
तलब भत्तामा कर्मचारीले पाउने तलबको साथमा स्वास्थ्य सेवानिवृत्ति र अन्भ सेवा सुविधा पनि जोडिन्छ । मुद्रास्फीति समावेश नगर्दा यस्तो तलब सुविधा साढे ४ प्रतिशतले बढिरहेको छ । तर मँहगी आकाशिरहेको पछिल्लो अवस्थामा तलब वृद्धि सुस्त छ, निराशनजनक छ । पछिल्लो तथ्यांकले महँगीले सर्वसाधारण र कम्पनी तथा व्यवसायहरुलाई परेको प्रभाव छर्लङ बनाएको छ ।
खानेकुरा, इन्धन र हाउजिङको लागतमा भइरहेको वृद्धिका कारण कर्मचारीको अधिकांश तलब यिनै कुरामा खर्च भइरहेका छ । मुद्रास्फीति समायोजन पछिको ज्याला र तलबको लागत ३ दशमलव ६ प्रतिशतले घटेको छ भने भत्ता सुविधामा पनि ४ दशमलव २ प्रतिशतको कमी आएको छ । यी दुबैमा आएको यो २१ वर्षयताकै उच्च कमी हो ।
अमेरिकीहरूको तलब निकै तीव्र दरमा घटिरहेको अनि अहिले यो दुई वर्ष अघिको भन्दा पनि तल आएको हर्वार्ड विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक तथा ओबामा सरकारको आर्थिक सल्लाहकार परिषद्का अधयक्ष जासन फम्र्यानले बताएका छन् ।
अहिलेको अवस्था कामदारका लागि खासै राम्रो छैन । अनि रोजगारदाताको लागि पनि पीडादायी नै छ । श्रम बजार कसिलो छ । भने जस्तो कर्मचारी पाउन मुश्किल छ । पाए पनि टिकाउनै गाह्रो । कर्मचारीलाई आकर्षित गर्न र टिकाइराख्न रोजगारदाताहरु तलब र सेवा सुविधा बढाउन बाध्य छन् । यसले पनि महँगी कहिलेसम्म रहन्छ र यसको प्रभाव कस्तो अनि कहिलेसम्म हुन्छ भन्ने चिन्ता बढाएको छ ।
गत महीना केन्द्र बैंकले सन् २०१८ यता पहिलो पटक महँगी नियन्त्रण गर्न ब्याजदर बढाएको थियो । यो निर्णयको कारणको रुपमा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का अध्यक्ष जेरोम पावेलले रोजगारी लागत खर्च डेटातर्फ औंल्याएका थिए । महँगी नियन्त्रण गर्न फेडले आक्रामक रुपमा ब्याजदर बढाउने संकेत गरेको छ । एजेन्सी