जेठ ४, काठमाडौं । नेपालीमा एउटा उखान छ नि पैसा देखेपछि महादेवको तीनेत्र । पैसा देखेपछि धेरैजसो मानिसको मनमा लोभ जाग्छ । अझ सित्तैमा पाएको पैसाको त कुरा नै नगरौं ।
पश्चिम जापानमा पनि यस्तै भएको छ । त्यहाँको यामागुची प्रिफेक्चरको आबु नगरले नगरका न्यून आय भएका ४६३ ओटा घर परिवारलाई दिन भनेर ठिक पारेको ४ करोड ६३ येन झुक्किएर एउटै व्यक्तिको खातामा गयो । खातामा यति धेरै रकम आएपछि रकम पाउने व्यक्ति बेपत्ता भए ।
नगर सरकारलाई झुक्किएर नगरघरका ४६३ घर परिवारलाई दिन राखिएको पैसा एउटै व्यक्तिको खातामा गएको ढिलै मात्र थाहा भयो । नगरका अधिकारीहरुले ४६३ घर परिवारको खातामा एक÷एक लाख येन पठाउन सबै प्रक्रिया पूरा गरे ।
तर नगद पठाउने दिनमा एक अधिकारीले झुक्किएर सूचीको सबैभन्दा माथि भएको घरपरिवारको मूलीका नाम र खाता नम्बर बैंकमा पठाइदिए । बैंकले पनि सबै रकम एउटै खातामा हाल्ने होला भन्ने सोचर रकम स्थानान्तरण गरिदियो ।
उता रकम पाउने बित्तिकै प्रापक बेपत्ता भए । नगर अधिकारीहरुले बारम्बार ताकेता गर्दा पनि न त घरमा फोन उठ्यो न त कुनै प्रतिक्रिया नै आयो । बल्ल तल्ल पैसा दिने वाचा गरे पनि उनी गायब भए । ती व्यक्तिले सबै रकम आफ्नो व्यक्तिगत खातामा सारे ।
पैसा आफूसँग नभएको र दिन नसिकने अभिव्यक्ति आएपनि पछिल्लो समय चाँहि उनले सीमापार अनलाइन जुवामा सबै रकम हारेको बताइयो । बुधवार ती व्यक्तिले सो रकम चलाएकोमा माफी माग्दै सबै रकम थोरै थोरै गरेर फिर्ता गर्ने बताएको भन्दै जापानी सञ्चार माध्यमहरुले निकट स्रोतलाई उद्धृत गर्दै समाचार छापेका छन् ।
न्यून आय भएका घरपरिवारका ती व्यक्तिले त्यति ठूलो रकम कसरी फिर्ता गर्न सक्लान् ? उनकै वकिलले पनि रकम फिर्ता गर्न सम्भावना नरहेको केही दिन अघि भएको एउटा पत्रकार सम्मेलनमा भनेका थिए ।
गएको बिहीवार आबु नगर सरकारले कानूनी शुल्कसमेत गरेर करीब करोड १० लाख येन मागेर ती पुरुषमाथि मुद्दा दायर गरेको छ । नगरले उनीमाथि देवयानी मुद्दा चलाउने तयारी गरिरहेको छ । एजेन्सी