काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाका ग्राहकबीच ठूलो असन्तुलन पाइएको छ । बैंकमा खाता खोली कारोबार गर्ने सर्वसाधारणको संख्या उत्साहजनक रूपमा वृद्धि भए पनि ज्यादै थोरैले मात्रै कर्जामा पहुँच पाएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ चैतमा बैंक तथा वित्तीय संस्थामा कुल ४ करोड ३२ लाख निक्षेप खाता रहेकोमा कर्जा खाता १८ लाख ३६ हजार मात्र छ । बैंकका कुल ग्राहकमध्ये ४ दशमलव २४ प्रतिशतमात्र ऋणको पहुँचमा छन् ।
बैंकमा निक्षेप खाताको संख्या तीव्र रूपमा विस्तार भए पनि कर्जा ग्राहकको संख्या भने विस्तार हुन सकेको छैन । राष्ट्र बैंकका अनुसार पछिल्लो ५ वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ग्राहक संख्या ९२ प्रतिशतले वृद्धि हुँदा कर्जा ग्राहक भने ४२ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
२०७४ चैतमा बैंक तथा वित्तीय संस्थामा २ करोड २५ लाख निक्षेप खाता रहेकोमा १२ लाख ८६ हजारले कर्जा लिएका थिए । हाल निक्षेप खाताको संख्या बढेर ४ करोड नाघिसक्दा पनि कर्जा ग्राहकको संख्या भने १८ लाख हाराहारीमै सीमित छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तार र सामाजिक सुरक्षा, तलबभत्ता खातामार्फत भुक्तानी गर्नुपर्ने सरकारको नीतिगत प्रावधानका कारण बैंकमा खाता संख्या बढेको छ । यसैगरी शेयर कारोबारका लागि समेत बैंकमा खाता खोल्नेको संख्या बढेको छ । तर, निक्षेप खाता वृद्धिको तुलनामा कर्जा ग्राहक संख्याको वृद्धिदर कमजोर रहेको छ ।
‘बैंकिङ पहुँच वृद्धिले निक्षेप खातासँगै कर्जाको पनि वृद्धि हुनुपर्ने हो,’ राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ भन्छन्, ‘जुन रूपमा निक्षेप खाता संख्या बढेको छ, त्यसअनुसार कर्जाका ग्राहक बढेका छैनन् ।’
बैंकमा बचत गर्नेको तुलनामा ऋण लिएर व्यवसाय गर्ने व्यक्ति थोरै हुनु स्वाभाविक रहेको बताउँछन्, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल । ‘देशमा जति व्यावसायिक वातावरण वृद्धि हुन्छ उति नै बैंकबाट कर्जा लिएर व्यवसाय गर्नेको संख्या बढ्ने हो,’ उनले भने ।
बैंकहरूको कर्जामा सर्वसाधारणको पहुँच नभएको भन्दै संसद्देखि सडकसम्म आलोचना हँदै आएको छ । नेपाल राष्ट्र बैंकले बैंकको कर्जामा पहुँच बढाउन सहुलियत कर्जादेखि विभिन्न क्षेत्रमा निर्देशित कर्जाको समेत व्यवस्था गरेको छ । तर, सरकारको प्राथमिकताअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह लक्षित वर्गसम्म पुग्न सकेको छैन ।
फलफूल, जडीबुटी उत्पादन र प्रशोधनका लागि सस्तो कर्जा
बैंक तथा वित्तीय संस्थाहरूले फलफूल एवम् जडीबुटी उत्पादन र प्रशोधन गर्न सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै फलफूल तथा जडीबुटी उत्पादनका साथै प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको हो । प्रशोधन उद्योगमा प्रयोग हुने फलफूल एवम् जडीबुटी देशभित्र उत्पादन भएको हुनुपर्ने र यो कर्जा जग्गा किन्न प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।
यसअघि राष्ट्र बैंकले १ करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा शीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था गरेको थियो । यस्तै राष्ट्र बैंकले विद्युत् निर्यात गर्न शुरू गरेका परियोजना, जलाशययुक्त आयोजना, अक्सिजन प्लान्ट स्थापना, खोप उद्योग र अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न सहुलियत दरका कर्जा दिन निर्देशन दिएको छ ।