ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाई र भेडाको डकारलाई कर लगाउँदै न्यूजिल्यान्ड !

२०७९ जेठ, २६  
र यो पनि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जेठ २६, काठमाडौं। न्यूजिल्यान्डले भेडा र गाईवस्तुको डकारमा कर लगाउने योजना सार्वजनिक गरेको छ । हरित गृह ग्यास उत्सर्जनको समस्या समाधान गर्नका लागि सो योजना सार्वजनिक गरिएको हो । 

यो योजना पारित भयो भने कृषकहरुले पालेका गाईवस्तुले उत्सर्जन गर्ने मिथेनका लागि  उनीहरुलाई कर तिराउने न्यूजिल्यान्ड पहिलो देश हुनेछ । न्युजिल्यान्डको जनसंख्या ५० लाखभन्दा केही बढी छ ।

तर यहाँ वस्तुभाउको संख्या १ करोड छ भने २ करोड ६० लाख भेडा छन् । यहाँको आधाभन्दा धेरै हरित गृह ग्यास खासगरी मिथेनको उत्सर्जन कृषि क्षेत्रबाट हुने गरेको छ । न्यूजिल्यान्डले उत्सर्जन कारोबार योजनामा यसअघि कृषि क्षेत्रबाट हुने उत्सर्जनलाई समावेश गरेको थिएन । 

आफूहरुले वातावरणमा थपिरहेको मिथेनको आकार घटाउनु पर्ने आवश्यकतामा दुईमत नभएको र यो लक्ष्य हासिल गर्न कृषि क्षेत्रमा प्रभावकारी उत्सर्जन कटौती प्रणालीले मुख्य भूमिका निर्वाह गर्ने न्यूजिल्यान्डका जलवायु परिवर्तन मन्त्री जेम्स शले भनेका छन् । 

पछिल्लो प्रस्तावअनुसार किसानहरुले सन् २०२५ देखि ग्यास उत्सर्जन कर तिर्नु पर्नेछ । गाईवस्तुलाई एडिटिभ्स खुवाउने, रुख बिरुवा रोप्ने लगायत उत्सर्जन कटौतीका गतिविधि गर्ने किसानहरुलाई प्रोत्साहन दिइने पनि प्रस्तावमा छ । पछिल्लो प्रस्तावलाई किसानहरुले पनि समर्थन गरेका छन् ।

न्यूजिल्यान्डमा खेति किसानी र पशुपालन नै बन्द हुने अवस्था आउन नदिने उपाय खोज्न यस विषयमा आफूहरुले सरकार र अन्य संघसंस्थाहरुसँग मिलेर वर्षौदेखि काम गरिरहेको न्यूजिल्यान्डका किसानहरु संगठनहरुको महासंघका राष्ट्रिय अध्यक्ष र डेरी किसान एन्ड्रिउ होगार्डले बताएका छन् ।

आफूहरुलाई चित्त बुझेको कयौं कुरामा आफूहरु सहमत रहेको उनको भनाइ छ । धेरै पक्षहरु संलग्न यस्तो खालको अरु सम्झौतामा झैं यसमा पनि केही अप्रिय कुराहरु रहने उनको भनाइ छ । अहिलेसम्म सम्झौताको विस्तृत विवरणबारे सहमति भइसकेको छैन ।

योजनाको कार्यान्वयन वास्तवमा कसले गर्छ भन्ने लगायत कयौं पक्षहरु स्पष्ट हुन बाँकी नै रहेको र सरकारसँग मिलेर गर्नुपर्ने काम धेरै भएको होगार्डको भनाइ छ । यो योजनाबाट उठ्ने रकमलाई अनुसन्धान, विकास र किसानहरुलाई सल्लाहकार सेवा दिन प्रयोग गरिने न्यूजिल्यान्डका कृषिमन्त्रालयले बताएको छ ।

गएको महीना मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न न्यूजिल्यान्डका अर्थमन्त्रीले २ अर्ब ९० करोड न्यूजिल्यान्ड डलर उपलब्ध गराउने वाचा गरेका थिए । यसको लागि चाहिने रकम उत्सर्जन ट्रेडिङ प्रणालीबाट आउने छ । यो प्रदूषणकर्ताहरुलाई कर तिराउने प्रणाली हो । 

हरित गृह ग्यासमा कार्बनडाई अक्साईड पछि दोस्रो धेरै पाइने ग्यास मिथेन हो । विश्वव्यापी तापमान वृद्धिमा मिथेनको पनि ठूलै भूमिका छ । पछिल्लो समय वायुमण्डलमा मिथेनको अनुपात यसअघि कहिले नदेखिएको स्तरमा पुगेको छ । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)