असार १, काठमाडौं । पाकिस्तान सरकारले त्यहाँका सर्वसाधारणहरुलाई थोरै चिया पिउन अनुरोध गरेको छ ।
अर्थतन्त्रलाई जोगाइ राख्नका लागि एक जना वरिष्ठ मन्त्रीले त्यस्तो अनुरोध गरेका हुन् ।पाकिस्तानको उच्च स्तरमा उक्लिएको आयात महसुल घटाउनका लागि वरिष्ठ मन्त्री अहसान इकबालले मानिसहरुलाई दैनिक रुपमा सेवन गर्ने चियाको कप घटाउन भनेका छन् ।
पाकिस्तान विश्वको सबैभन्दा ठूलो चिया आयातकर्ता हो । गत वर्षमात्रै उसले ६० करोड डलरभन्दा धेरैको चिया आयात गरेको थियो ।आफूहरुले ऋणमा चिया आयात गरेको भन्दै मन्त्री इकवालले पाकिस्तानी सञ्चार माध्यम समक्ष सर्वसाधारणहरुलाई दिनमा एक दुई कप चिया खपत कम गर्न भनेका थिए ।
बिजुली बचाउन आफ्नो सटर साँझ ८ : ३० मा बन्द गर्न पनि उनले व्यवसायीहरुलाई भनेका छन् । पछिल्लो समय पाकिस्तानको विदेशी विनिमय सञ्चिति तीव्र दरमा घटिरहेको छ ।
यसले सरकारमाथि आयात लागत घटाउने दबाब बढाएको छ । मन्त्रीले चियाको खपत कम गर्न गरेको अनुरोध सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले भने चिया खपत कम गरेर पाकिस्तानको गम्भीर वित्तीय समस्या समाधान हुनेमा आशंका व्यक्त गरेका छन् ।
फेबु्रअरीमा १६ अर्ब डलर रहेको पाकिस्तानको विदेशी विनिमय सञ्चिति जुनको पहिलो हप्तामा घटेर १० अर्ब डलरभन्दा तल आएको छ । यो पाकिस्तानको दुई महीनाको मात्रै आयात धान्न पर्याप्त छ । विदेशी सञ्चिति जोगाउन गएको महीना अधिकारीहरुले दर्जनौं गैर–अत्यावश्यक विलासी वस्तुको आयातमा रोक लगाएका थिए । एजेन्सी