असार १३, काठमाडौं । बिरामी भएर कार्यालय नै जानै नसक्ने भएको समयमा पनि सकी नसकी काममा जानु पर्ने बाध्यता आइपर्छ ।
कहिलेकाँही बिसञ्चो भएर कार्यालय जानै मन नलाग्दा आज त बिदा नै बस्छु होइन भने घरबाटै काम गर्न पाए पनि हुन्थ्यो भनेर तपाईको मनमा कयौं पटक आएको हुन सक्छ ।
कोरोना भाइरसको महामारीका कारण नेपालमा मात्रै होइन विश्वभर पनि घरबाट काम गर्ने नीति ल्याइएको थियो । पछिल्लो समय कोरोना भाइरसको महामारी मत्थर भएपछि सबै कम्पनीहरुले आफ्ना कर्मचारीलाई कार्यालयमै बोलाएका छन् । केही कम्पनीले अझै पनि हाइब्रिड कार्यशैली अपनाइरहेका छन् । तर ठूलै बिरामी भएको बेलामा कार्यालय नै नगइकन पनि वर्षभरीको तलब खाने सपना वा कल्पना तपाईंले कहिले गर्नु भएको छ ?
तपाईंको यो सपना वा कल्पना साकार होला नहोला तर भारतमा भने एउटा ई–कमर्श कम्पनीका कर्मचारीको यस्तो सपना साकार हुने भएको छ । त्यहाँको ई–कमर्श कम्पनी मिशो MESSHO ले कर्मचारीका कल्याणका लागि अनौठो कदम चालेको छ ।
भारतीय समाचार पत्रिका इकोनोमिक्स टाइम्सले छापेको समाचार पत्याउने हो भने कम्पनीले गम्भीर खालको रोग लागेका अनि बारम्बार अस्पताल गइरहनु पर्ने वा अस्पतालमै भर्ना भएर उपचार गराउनु पर्ने कर्मचारीका लागि ३५६ दिनसम्मको तलबी बिदा दिने नीति ल्याएको छ ।
कम्पनीले व्यक्तिगत लगाव वा लक्ष्य हासिलका लागि कार्यालयबाट छुट्टि लिन चाहने कर्मचारीका लागि पनि यो नीति लागू गरेको छ । लामो छुट्टि लिएर कर्मचारीहरु कार्यालय फर्किएपछि उनीहरुलाई पहिला जे पद वा हैसियतमा काम गरेको हो सोही पद वा हैसियतमा राखिनेछ । सो पद वा हैसियत छैन भने अर्को टोलीमा सोही स्तरको भूमिका दिइने छ ।
बिरामी भएर बिदामा बसेको समयमा कर्मचारीहरुले बिदा अवधिभरको पूरै तलब पाउनेछन् । घरपरिवारका सदस्य बिरामी भएर बिदा बसेको अवस्थामा भने तीन महीनाको २५ प्रतिशतसम्म तलब पाइनेछ । यस बाहेक ती कर्मचारीलाई सञ्चय कोष, बीमा र अतिरिक्त औषधिउपचारलगायत भत्ता पनि दिइने छ । औषधि उपचार बाहेक अन्य कारणले गर्दा बिदा लिने कर्मचारीले भने तलबी बिदा पाउने छैनन् ।
कम्पनीले कर्मचारी र तिनका परिवारका सदस्यहरुको सम्पूर्ण हित अभिवृद्धि गर्न ‘मिकेयर’ कार्यक्रमअन्तर्गत यी पहलहरु गरेको हो । कर्मचारीहरुलाई व्यक्तिगत लक्ष्य हासिल गर्न वा आफू वा परिवारको सदस्य बिरामी भएर लामै समय बिदा बस्नु पर्ने स्थिति आइपर्ने गरेको र कर्मचारीका यी आवश्यकतालाई पूरा गर्न मिकेयर कार्यक्रम ल्याइएको मिशोका प्रमुख मानव संशाधन अधिकारी आशिष कुमार सिंहले बताए ।
बिदाको प्रकृतिले गर्दा धेरैले यसको प्रयोग नगर्ने अपेक्षा आफूहरुको भएको सिंहको भनाइ छ । बैंगलुरुमा रहेको यस कम्पनीमा करीब २ हजार कर्मचारी छन् । यसमा जापानको बहुराष्ट्रिय लगानी कम्पनी सफ्ट बैंकको पनि लगानी रहेको छ ।
गत वर्ष सफ्ट बैंकको नेृतत्वमा चलेको रकम संकलन अभियानबाट ३० करोड डलर उठेपछि मिशो अहिले युनिकर्न अर्थात् १ अर्ब डलरभन्दा बढी हुने स्टार्ट अप कम्पनी बनेको छ । एजेन्सी