असार २१, म्याग्दी । केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका पनि थिएनन् ।
आफैंले खानका लागि दुई/ चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । १० वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करीब १६ रोपनी जमीनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् ।
उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले अन्य किसानहरु पनि व्यावसायिक केरा खेती गर्नेतर्फ उत्साहित भएका हुन् ।
बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महीनामा विक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै विक्री हुने हुँदा बजारको समस्या नभएको सापकोटा बताउँछन्। बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको उनको भनाइ छ ।
कृषि पेसामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै यहाँका बासिन्दाको अहिले आर्थिक अवस्थामा निकै सुधार आएको छ । खबराका १६० घरधुरी किसानले केरा खेतीबाट वार्षिक रुपमा १ करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् ।
खबरामा केरी खेतीको सुरुआत २० वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बासिन्दाले बताएका छन् । थापा र कार्कीले शुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यावसायिक रुपमा केरा खेती थालेका हुन् ।
अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन् । खबराका प्रत्येक घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेका छन् । खबराका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्न सकेको देखेपछि छिमेकी बगरफाँटका किसानले पनि व्यावसायिक केरा खेती गर्न थालेका छन् ।
बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा विक्री गर्ने गरेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरीद गर्ने गरेका बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए।
धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् ।
धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहेनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैंचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुरले बताए ।
मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताए ।
एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करीब २ हजार केराका बिरुवा लगाएका छन् । पकाएको केराप्रति १२ कोसा १०० रुपैयाँका दरले विक्री हुने गरेको छ । एउटै घारीबाट १ हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।
विदेशबाट फर्केर केराखेतीमा रमाउँदै युवा
यसैगरी उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिसिन चौतारीका युवाहरु पनि विदेशबाट फर्केर व्यावसायिक केराखेतीमा लागेका छन् । स्थानीय युवा रमेशबहादुर कटुवाललगायत उनका साथीहरुले व्यावसायिक केरा खेतीबाट आम्दानी गर्दै आएका छन् ।
उनीहरुरुले वर्षौंदेखि मकै कोदो बालीसँगै रूखबिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा आरम्भ कृषि तथा पशु फार्मबाट शुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेसासँगै दुई ओटा प्लास्टिक पोखरीमा ३ हजार माछाका भुरा हालेर माछापालन, भुइँकटर, तरुल र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । तीन वर्षदेखि शुरु गरेको केरा फर्मको रेखदेख र गोडमेलमा उनका बुबा खिमबहादुर कटुवालले दैनिक रुपमा गर्दै आएका छन् ।
रोजगारीको सिलसिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रूखबिरुवाले भरिएको पाखो जमीनलाई सदुपयोग गर्दै व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती शुरु गरेका हुन् ।
१ हजार केराका बिरुवा लगाएका कटुवालले सिंचाइका लागि हालसम्म व्यक्तिगत ७ लाख रुपैयाँ लगानी गरेको बताए । केरा खेतीको पकेट क्षेत्र घोषणासँगै कृषकका लागि सिंचाइ व्यवस्था, प्राविधिक तालिम, छिटोछरितो तरिकाले गोडमेल गर्ने मेसिनहरु उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनुपर्ने कृषकहरुको भनाइ छ । रासस