असार २८, काठमाडौं । २०७८ वैशाखमा देशमा दोस्रो लकडाउन चलिरहेको थियो । रावलकुमार साह स्नातक दोस्रो वर्षको परीक्षा दिएर बसिरहेका थिए । घरमा कान्छी दिदीको विहे हुने भएपछि खाली बसिरहेका साहलाई विहेको तयारीका लागि आमाले घर बोलाउँछिन ।
वैशाख २० गतेको नाईट बस चढेर २१ गते बिहान बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका स्थित आफ्नो घर पुगे साह । परीक्षा सकेर बसेकाले हलुका महसुस भएको थियो भने अर्को तर्फ दिदीको बिहेमा हुने रमाइलो सम्झेर मन चङ्गा भएको थियो ।
उनको घरको अगाडि सडक छ । सडक छेउमै बिजुलीको पोल छ । उनलाई कहिल्यै लागेको थिएन यही पोल उनको जीन्दगीको सबैभन्दा ठूलो अभिसाप बन्ला भनेर ।
विहेको बेला घर सफाई चलिरहेको थियो । सफाई गर्दै गरेका बुवालाई सहयोग गर्दै थिए रावलकुमार । सफाईकै क्रममा एउटा फलामको लामो छड भेटियो । उनले त्यो छड निकाल्ने कोसिस गरे । त्यतिकैमा उनलाई ठूलो झट्का लागेको महसुस भयो ।
आाँखा खुल्दा वीरगञ्जको अस्पतालमा थिए रावलकुमार । शरीर पुरै जलेको थियो । सबैभन्दा बढी उनका दुबै हात जलेका थिए ।
वीरगञ्ज अस्पतालमा उपचार हुन नसक्ने भएपछि काठमाडौको कीर्तिपुर अस्पतालमा रिफर गरियो । अस्पतालले रावलकुमारलाई त जोगायो तर उनका हात जोगाउन सकेन ।
अस्पतालले लाख कोसिस गर्दा पनि हात जोगाउन नसकेपछि उनका दुबै हात काटिए । करीव ३ महीनाको अस्पताल बसाँईपछि उनी अहिले दिदी भिनाजुसँग काठमाडौको सोल्टिमोडमा बस्दै आएका छन् ।
पहिलेदेखि नै विद्युत प्राधिकरणलाई भनेको थिए घरको बीचमा पोल पर्यो यसलाई हटाइदिनुस भनेर, तर मानेनन् । आज त्यसैको कारण आँफूले दुबै हात गुमाउनु परेको उनी बताउँछन् ।
हाल शरिरको अवस्था जस्तो सुकै भएपनि आत्मबल भने गुमाएका छैनन् उनले । स्नातक तेस्रो वर्षको परीक्षा उनले आँफ्नै काटिएको हातले लेखेरै दिए । साइकल चलाउने देखि बञ्जिजम्प सम्म काटिएकै हातले गर्छन उनि । सबै काम आफैले गर्ने उनले कृत्रिम हात राख्नेसोच भने बनाएका छैनन् ।
जे छ त्यसलाईनै भरपुर प्रयोग गर्ने कोसिस गर्दा कृतिम हातको साहरा लिनु नपर्ने उनी बताउँछन् । कृत्रिम हात भन्या कतिन्जेल चल्छ ठेगान हुँदैन तर जति छ त्यसकै प्रयोग गर्दा सधैलाई सहज हुन्छ। यसमै प्राक्टिस गर्दैछु ।उनले भने ।
नेपालमा राज्यले दिएको सुविधा प्रति असन्तुष्ट रहेका उनी नेपालमा अपाङ्गमैत्री वातावरण नभएको बताउँछन् । पहिले र अहिलेमा आफूमा खासै फरक नभएपनि अपाङ्ग हुनु पहिले र अहिले आफन्त र साथिभाइले हेर्ने नजरमा भने फरक पाएको बताए ।
नेपालमा अपाङ्ग भएको व्याक्तिलाई हेर्ने नजर नै ठिक रहेनछ । मुखले चुक ! चुक ! मात्रै गर्ने सहयोग भने पटक्कै नगर्ने उनको भोगाइ छ ।
नेपालमा अपाङ्ग र वृद्धलाई धेरै गार्हो भएको देखेको छु । उनी भन्छन् । केही महीना पछि बेलायत उड्ने तयारीमा छु ।
काठमाडौंको एक होटलमा काम गर्दै गर्दा चिनजान भएको विदेशी साथीको सहयोगमा उनी बेलायत जान लागेका हुन । 'नेपालमा अवसर छैन । अपाङ्ग भएपछि सबै चिज गुम्यो जस्तो गर्छन् । तर त्यसो होईन । हात मात्रै गुमेको हो, म अन्य जस्तै सबल नै छु ।
विदेश जानु, पैसा कमाउनु, उतै बस्नु धेरैको इच्छा हुन्छ । तर मेरो त्यो छैन । पढेर केही बन्छु । त्यस पछि नेपाल फर्केर म जस्तै धेरैलाई सहयोग गर्नेछु ।' उनले आफ्नो भविष्यको योजना सुनाए ।
भिडियो
I am shree kishor mandal