ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सफल उद्यमीका आमाबुवाले छोराछोरी हुर्काउँदा नगर्ने चार गल्ती

२०७९ असार, ३०  
र यो पनि स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । बच्चालाई यो गर्नुपर्छ, यसरी गर्नुपर्छ भनेर हामीले धेरै सल्लाह सुझाव सुन्ने गरेका छौं । नवप्रवर्तनमुखी व्यवसाय/उद्यम सञ्चालक अति सफल ७० व्यक्तिका अभिभावकहरूसँग कुराकानी गरेर ‘रेजिङ आन्त्रप्रेनर’ पुस्तक लेखेकी मार्गो म्याचलले भने सफल उद्यमीका आमाबुवाले जीवनमा कहिले नगरेका गल्तीबारे औंल्याएकी छन् ।

यस क्रममा उनले विविध जातजाति, सामाजिक, आर्थिक र धार्मिक पृष्ठभूमि भए पनि अधिकांश अभिभावकहरूले हुर्काएका तरिका लगभग एउटै पाइन् । सबैले आफ्ना बालबालिकाहरूसँग चारओटा कुराचाहिँ गरेनन् । 

१. रुचिलाई समयको बर्बादीको रूपमा हेरेनन् 

खेलकूद, भिडियो गेम, वादविवाद, संगीत र चरा अवलोकन आदि । हरेक बालबालिकाका आ–आफ्नै रुचि हुन्छ । तर, म्याचलले कुराकानी गरेका कुनै पनि अभिभावकले आफ्ना बालबालिकाको रुचिलाई समयको बर्बादी ठानेनन् । यस्तो खालको रुचिले मानसिकरूपमा उनीहरूलाई सक्रिय राख्छ भन्ने उनीहरूलाई थाहा थियो । राधा अग्रवाल ग्लोबल मर्निङ डान्स मुभमेन्ट डेब्रेकरकी संस्थापक हुन् । यसअघि उनी सुपर स्प्रोट्जकी सीईओ पनि थिइन् । सानो छँदा उनको रुचि फुटबल खेल्नमा थियो । अभिभावकको साथ अनि सहयोग पाएर राधा र उनको जुम्ल्याहा बैनी मिकी ‘लेजेन्डरी सकर ट्विन्स’ समेत बने ।

अहिले राधाको करियरमा कतै पनि फुटबलसँग साइनो छैन । यद्यपि, फुटबलबाट धीर कसरी रहने र लचिलो कसरी बन्ने भनेर सिकेको कुरा उनको उद्यमी जीवनमा निकै उपयोगी साबित भयो । खेलकूदमा अनुशासनको निकै महत्त्व हुन्छ । संगठित हुनुपर्छ अनि एकाग्रता पनि चाहिन्छ । ‘समूहमा मिलेर काम गर्दा रणनीति त चाहिन्छ नै टोलीको नाइके बन्न क-कस्ता गुण चाहिन्छ भन्ने कुरा पनि थाहा हुनुपर्छ,’ अग्रवाल भन्छिन् । यी सबै कुरा आफूलाई फुटबलले नै सिकाएको उनको भनाइ छ । 

२. छोराछोरीको सबै निर्णय कहिल्यै आफैले गरेनन् 

आफूले कयौं कुरा देखेको, भोगेको अनि अनेकौं परिस्थितिबाट सिकेर कपाल फुलाएको हुँ भनेर हाम्रा अग्रजहरूले भन्ने गर्छन् । आफ्ना छोराछोरीलाई मैलेभन्दा राम्रो कसैले चिन्दैन भन्ने सोच पनि हामीमा हुन्छ । अनि आफूले गरेकै गल्ती उनीहरूले नदोहोर्‍याउन, आफूले गरिसकेको गल्तीबाट उनीहरूले पाठ सिकुन् भन्ने चाहना हामीमा हुन्छ । तर, सफल व्यक्तिका अभिभावकहरूले यो काम फिटिक्कै गर्दैनन् । 

तर, आफूले कुराकारी गरेका अभिभावकहरूमा यो गुण/दोष म्याचलले फिटिक्कै पाइनन् । एलन गष्टफ्सन बालबालिकाका विद्यालयमा खानेकुरा उपलब्ध गराउने परियोजना फिडकी सहसंस्थापक हुन् । उनको आमाले उनलाई आत्मनिर्भर बन्न प्रेरित गर्थिन् । अनि आफ्नो बारेमा सोच्न लगाउँथिन् । अरुलाई विश्वास गरे पनि एकपटक चेकजाँच गर्न अनि सत्य हो कि होइन भनेर सोधखोज गर्न लगाउँथिन् ।  

आफ्नो बालबालिका सतर्क रहनु तर हरेक नयाँ कुरामा डराइहाल्ने खालका नबनुन् भन्ने चाहनुहुन्छ भने बालबालिकाका लागि हरेक विकल्प उनीहरूलाई नै रोज्न दिनुपर्छ भनेर एलेनकी आमा माउरा बताउँछिन् । आफ्ना छोराछोरीको सबल र दुर्बल पक्ष क-के छ भन्ने कुरा हरेक अभिभावकलाई थाहा हुन्छ । तर, आफ्नो राम्रो र नराम्रो पक्ष बालक स्वयंलाई खुट्याउन छाडिदिनुपर्छ भन्छिन् माउरा । 

३. खुसीलाई पैसा र धेरै तलब खाने डिग्रीमाथि राखेनन् 

पढाइ नराम्रो होइन । पेशागत डिग्रीको त महत्त्व झनै धेरै छ । तर, पढाइ र रुचिबीच कुनै सम्बन्ध छैन । बालबालिका कागजी डिग्री हासिल गर्न मात्रै विद्यालय गएका हुन् भनेचाहिँ पढाइ, पैसा अनि समयको बर्बादी मात्रै हुन्छ । 

कसैलाई केही काम मन पर्छ भने यसबाटै जीविका चलाउन मान्छे मरिहत्ते गर्छ । डिग्री नै नभए पनि सो क्षेत्रमा डटेर, टिकेर आफूलाई स्थापित गराउन खोज्छ । केही वर्षसम्म तलब नै थोरै होस्, अवसर कम आउने अवस्था भए पनि नडराइकन टिकिरहन्छन् । 

४. वित्तीय साक्षरतालाई बेवास्ता गरेनन् 

अन्त्यमा कुरा आउँछ पैसाको । मार्गो म्याचलले कुराकानी गरेका अभिभावकहरूले कहिले पनि धेरै तलब पाइने जागिर खोज्न आफ्ना बालबालिकालाई दबाब दिएनन् । तर, उनीहरूले वित्तीय साक्षरतालाई कहिले बेवास्ता गरेनन् । अधिकांशले आफैले दुःख गरेर पढेका थिए । आफ्नो कलेजको पढाइ खर्च आफैले तिर्ने भएपछि कक्षा पनि कहिले बंक हानेनन् । जोएल हल्यान्डले आफ्नो पहिलो कम्पनी स्टोरी ब्लकको आधा स्वामित्व १ करोड डलरमा सन् २०१२ मा बेचेका थिए । 

कक्षा नै छाड्नुपर्ने लोभ वा अवसर आयो भने पनि हरेक कक्षाको लागि उनले कति खर्च भइरहेको छ भन्ने हिसाब गर्थे । अनि ५०० डलरभन्दा धेरै मू्ल्य पर्ने कक्षाको एक घन्टामा पढाइभन्दा मूल्यवान कुरा केही छैन भन्ने सोच्थे । बालबालिकाहरूलाई धेरै तलब दिने जागिर नै खानुपर्छ भनेर किन सिकाउनु हुँदैन भन्ने दर्शाउन जोएलको कथा निकै मन पर्छ भन्छिन् मार्गो । तर, पैसाको महत्त्व सिकाउनु पनि उनलाई उत्तिकै जरुरी हो भन्ने उनी ठान्छिन् । (एजेन्सीको सहयोगमा)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)