काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घोषणा गरेको नीतिगत दरहरू वृद्धि गरेसँगै बजारमा अल्पकालीन ब्याजदर बढ्न थालेको छ । राष्ट्र बैंकले वृद्धि भएको नीतिगत दर कार्यान्वयन गरेपछि बजारमा अन्तरबैंक र रिपोको ब्याजदरका साथै ट्रेजरी बिल्सको डिस्काउन्ट रेटसमेत बढेको हो ।
राष्ट्र बैंकले बिहीवार जारी गरेको रिपोमा बैंकहरूले ८ दशमलव ५५ प्रतिशतसम्म ब्याज बोलकबोल गरेका छन् । ३० अर्ब रूपैयाँको रिपोका लागि बोलकबोल आह्वान गरिएकोमा बैंकहरूले ६० अर्ब बराबरको दाबी गरेका छन् । २१ ओटा संस्थाबाट विभिन्न ब्याजदरमा ८७ ओटा बोलकबोल परेकोमा न्यूनतम ८ दशमलव २ प्रतिशत र औसत ८ दशमलव ३८ प्रतिशत ब्याजदर बोलकबोल भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले तीनपटक गरेर ७० अर्ब रूपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम ४ दशमलव ८ प्रतिशत मात्र ब्याजदर बोकलबोल गरेका थिए । चालू आर्थिक वर्षमा कसिलो मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदर बढाएर कर्जालाई कडाइ गर्ने नीति अघि सारेको छ । नीतिमा बैंकदर १ दशमलव ५ प्रतिशत बिन्दुले बढाएर ८ दशमलव ५ प्रतिशत पुर्याइएको छ ।
बैंकहरूले तरलता व्यवस्थापनका लागि लिने स्थायी तरलता सुविधा (एसएलएफ) को समयसीमा पनि २ दिन घटाएर ५ दिन बनाएको छ । यस्तै नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशत, निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत पुर्याएको छ । यी व्यवस्था लागू गर्न केन्द्रीय बैंकले निर्देशन जारी नगरे पनि ब्याजदर वृद्धि गरिसकेको छ, जसले गर्दा बजारमा प्रभाव परेको हो ।
राष्ट्र बैंकले नीतिगत दर वृद्धि गरे पनि अन्तरबैंक कारोबारको ब्याजदर समेत ८ दशमलव ४८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले नीतिगत दरहरू वृद्धि नगर्दासम्म अन्तरबैंक दर ७ प्रतिशतभन्दा कम थियो ।
विगतमा राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र नीतिगत दर परिवर्तन हुने व्यवस्था रहेकोमा यस वर्ष निर्देशनअगावै कार्यान्वयन भइसकेको छ । मौद्रिक नीतिको घोषणामध्ये नीतिगत दरहरू सम्बन्धित विभागले कार्यान्वयन गरिसकेको प्रवक्ता भट्टले बताए ।
ट्रेजरीको डिस्काउन्ट रेट १४ प्रतिशत
सोमबार राष्ट्र बैंकले नवीकरणका लागि ल्याएको २८ दिन र ९१ दिनका दुइटा ट्रेजरी बिलको डिस्काउन्ट रेट पनि बैंकहरूले १३ दशमलव ९९ प्रतिशत ब्याजदरको बोलकबोल गरेका छन् । २८ दिनको ट्रेजरी बिलमा बैंकहरूले न्यूनतम ९.३४ प्रतिशत र अधिकतम १२.२४ प्रतिशत ब्याजदर बोलकबोल गरेका छन् । त्यसको औसत ब्याजदर ११.३४ प्रतिशत निर्धारण भएको छ ।
यस्तै ९१ दिनको ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिलमा ८ अर्ब १० लाख रूपैयाँ बराबरको प्रस्ताव परेको थियो, जसमा अधिकतम १३ दशमलव ९९ र न्यूनतम ब्याजदर ९ दशमलव ९० प्रतिशतमा डिस्काउन्ट रेट कबोल भएको छ । राष्ट्र बैंकले नीतिगत दर बढाउनुअघि ३ साउनमा राष्ट्र बैंकले बोलकबोल गरेको २८ दिने ट्रेजरी बिलमा बैंकहरूले अधिकतम १० दशमलव ३५ र न्यूनतम ७ दशमलव ०६ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।
ब्याजदर वृद्धि गरे पनि बैंकहरूले राष्ट्र बैंकबाट तरलता सुविधा लिने क्रम घटेको छैन । बिहीवार पनि बैंक तथा वित्तीय संस्थाले रिपोबाहेक २३ अर्ब ६९ करोड रूपैयाँ स्थायी तरलता र १ अर्ब ४४ करोड रूपैयाँ बराबरको ओभरनाइट रिपो सुविधा लिएका छन् ।
बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको ११ कारोबार दिनमा ३ खर्ब ३७ अर्ब ७९ करोड रूपैयाँ स्थायी तरलता सुविधा र ८ अर्ब ७ करोड रूपैयाँ ओभरनाइट रिपो प्रयोग गरिसकेका छन् ।