काठमाडौं । तरलता अभाव तथा आर्थिक गतिविधि सुस्ताए पनि गत आर्थिक वर्ष (आव) मा बैंकहरूको नाफा भने बढेको छ । गत आवको चौथो त्रैमासमा व्यवसाय प्रभावित भए पनि पहिलो, दोस्रो र तेस्रो त्रैमासमा गरेको व्यवसाय विस्तारबाट बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको हो ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणले उनीहरूको नाफा २३ दशमलव १४ प्रतिशतले बढेको देखाएको हो । अघिल्लो आव २०७७/७८ मा ६० अर्ब ७४ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका बैंकहरूले आव २०७८/८९ मा ७४ अर्ब ८० करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
केही बैंकको वित्तीय विवरण नकारात्मक भए पनि समग्र बैंकको नाफा सकारात्मक देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । ‘केही बैंकको मात्र नाफा घटेको छ, समग्रमा बैंकिङ उद्योगको नाफा दर गतवर्षभन्दा राम्रो देखिएको छ ।’ आव २०७७/७८ मा बैंकहरूको नाफा अघिल्लो आवको दाँजोमा २० प्रतिशतले बढेको थियो ।
नेपालमा व्यापारीहरूले बैंकसँगको सम्बन्ध राम्रो बनाउन आर्थिक वर्षको अन्त्यमा किस्ता तथा ब्याज रकम तिर्ने प्रचलनका कारण बैंकहरूको वित्तीय विवरण राम्रो भएको उपाध्यायले बताए । ‘व्यापारीहरू बैंकसँगको सम्बन्ध बिगार्नु हुँदैन, आर्थिक वर्षको अन्त्यमा सबै बक्यौता चुक्ता गर्नुपर्छ भन्नेमा सचेत छन्,’ उनले भने, ‘यो बानीका कारण बैंकहरूलाई पोर्टफोलियो व्यवस्थापनमा सजिलो भएको छ ।’
यसैगरी गत आवको चौथो त्रैमासमा बैंकहरूले लगानी बन्द गरी असुलीमा ध्यान दिएकाले पनि वित्तीय विवरण सकारात्मक राख्न सजिलो भएको उपाध्यायको भनाइ छ । बैंकहरूको ब्याज आम्दानी, जोखिम व्यवस्थाबापतको रकम फिर्तालगायतले पनि नाफा बढाउन योगदान गरेको उनले बताए ।
गत आवमा सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ कमाएको छ । यसैगरी ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड, नबिलले ४ अर्ब ९७ करोड, एनआईसी एशियाले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेण्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् ।
सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको १ अर्ब ३५ करोड छ । यस्तै सिभिलले १ अर्ब ३८ करोड, लक्ष्मीले १ अर्ब ६० करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ६३ करोड र बैंक अफ काठमाण्डूले १ अर्ब ८१ करोड नाफा गरेको छ । कम भए पनि सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ । अघिल्लो आवको तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ ।
गत आवमा कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ ।
तत्काल ब्याजदर नबढाउने
चालू आर्थिक वर्षको मौद्रिक नीतिको घोषणाअनुसार नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू वृद्धि गर्दै बैंकहरूलाई ब्याज बढाउने बाटो खोलिदिए पनि वाणिज्य बैंकहरूले तत्काल ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको शुक्रवार बसेको बैठकले साउनका लागि ब्याजदर प्रकाशन गरिसकेकाले तत्काल वृद्धि नगर्ने र भदौका लागि भने छलफल गरेर मात्रै अघि बढ्ने निर्णय गरेको हो ।
‘बैंकहरूले साउनका लागि ब्याजदर प्रकाशन तथा निक्षेप नवीकरण गरिसकेकाले तत्काल ब्याजदर नबढाउने निर्णय गरेका छौं,’ संघका अध्यक्ष उपाध्यायले भने, ‘अर्को महीना बैंकहरूको राय विश्लेषण गरेर मात्र आवश्यक निर्णय गर्छौं ।’
बैंकले प्रत्येक महीना लागू गर्ने ब्याजदर अघिल्लो दिन प्रकाशित गर्नुपर्ने र परिवर्तन गर्दा १० प्रतिशतले मात्र घटबढ गर्न पाउने व्यवस्था भए पनि गत बुधवार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै राष्ट्र बैंकले बैंकदर तथा नीतिगत दर परिवर्तन भएमा बैंकहरूले तत्काल ब्याजदर परिवर्तन गर्न सक्ने प्रावधान ल्याएको छ ।
ब्याज बढाउँदैमा निक्षेप बढ्ने अवस्था नभएकाले तत्काल वृद्धि नगरेको अध्यक्ष उपाध्यायको भनाइ छ । ‘यसअघि हामीले दुईपटक ब्याज बढायौं, लगातार बढाएको भए अहिले १६ प्रतिशतसम्म पुग्थ्यो,’ उनले भने, ‘ब्याज बढाएर निक्षेप नबढ्ने भएकाले बैंकहरूको लागतमात्र बढाउन हुँदैन भन्ने हाम्रो निष्कर्ष रह्यो ।’
निर्देशनमा राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अन्तर १ प्रतिशत मात्र थियो ।
ब्याजदर परिवर्तन गर्दा व्यक्तिगत र संस्थागतको अन्तरलाई पनि समायोजन गर्नुपर्ने भएकाले भदौको ब्याज तय गर्दा आवश्यक निर्णय गरिने संघले जानकारी दिएको छ ।