साउन २३, काठमाडाैं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपाल लिमिटेडकाे शेयर मूल्य सबैभन्दा बढी छ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले शेयर मूल्यमा मात्रै हाेइन, लाभांश र प्रतिफल वितरणमा पनि अधिकांश सूचीकृत कम्पनीहरूलाई उछिनेको छ । सबल व्यवस्थापन, लगानीको सत प्रतिशत सुनिश्चिततालगायत कारणले कम्पनीमा लगानीकर्ताकाे आकर्षण बढी छ ।
शेयर मूल्य सबैभन्दा बढी भएकाले यस कम्पनीको शेयर कारोबार भने अरुकाे तुलनामा कम हुने गर्दछ । सूचीकृत भएको एक दशकभन्दा बढी भइसक्दा पनि कम्पनीले शेयरधनीलाई बोनस शेयर वितरण गरेको छैन । हालसम्ममा नगद लाभांश मात्र दिएको छ ।
कम्पनीको प्रबन्धक निर्देशकमा अम्लन मुखर्जी रहेका छन् ।
सोमवार कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले आकर्षक मुनाफा हासिल गरेकाे छ । सोही कारण कम्पनीको शेयर मूल्य ५ दशमलव ५९ प्रतिशत बढेर प्रतिकित्ता रू. १९ हजार पुगेको छ । इन्ट्राडे कारोबारमा भने कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
यस दिन कम्पनीको २ हजार १३१ कित्ता शेयर खरीदविक्री भएको हो । हाल नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता शेयर सूचीकृत रहेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ७४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. ८६ करोड ९ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. १ अर्ब ४९ करोड पुगेको हो । गत आवमा कम्पनीको आम्दानी वृद्धि भएसँगै नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन आम्दानी २७ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन आम्दानी रू. ५ अर्ब ७३ करोड रहेकोमा गत आवमा बढेर रू. ७ अर्ब ३३ करोड पुगेको हो ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३०५ रहेकोमा गत आवमा बढेर रू. ७७६ पुगेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले रू. १ अर्ब ४९ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष ८६ करोडभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ७४ दशमलव १७ प्रतिशत बढी खुद नाफा गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २१ लाख रहेको छ भने जगेडामा रू. ३ अर्ब ५३ करोडभन्दा बढी सञ्चित गरेको छ । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव २७ गुणा र प्रतिशेयर शेयर नेटवर्थ रू. ३ हजार ९४२ रहेको छ ।
कम्पनीले पछिल्लाे पाँच आवमा शेयरधनीलाई दिएको लाभांश विवरण :
गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था :
प्राविधिक विश्लेषण
मैनबत्ती चित्र
९ मे २०२२ ८ अगष्ट २०२२
५६ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ ह्वाइट मारोबोजू आकृति बनेको छ । यस्तो आकृति कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ ।
आरएसआई
९ मे २०२२ ८ अगष्ट २०२२
: ५६ दिनको कारोबार अवधिमा आरएसआई ६३ दशमलव ७० बिन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
स्ट्याण्र्ड डेभिएसन
९ मे २०२२ ८ अगष्ट २०२२
: ५६ दिनको कारोबार अवधिमा स्ट्याण्र्ड डेभिएसन ४१२ दशमलव ३७ बिन्दुमा रहेको छ । यसले उतारचढाव उच्च रहेको देखाउँछ । याे अवस्थामा उच्च जोखिम हुने गर्छ । त्यसकारण काराेबारबारे पूर्वानुमान गर्न गाह्रो हुन्छ । याे अवस्थामा लाभ भने धेरै हुने गर्दछ ।
मुभिङ एभरेज
९ मे २०२२ ८ अगष्ट २०२२
: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाभन्दा माथि रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ ।
कम्पनीको सोमवारको शेयर मूल्य प्रतिकित्ता रू. १९ हजारदेखि सस्तिएमा रू. १७ हजार ९९९ टेवा पाउने देखिन्छ भने महँगिएमा रू. १९ हजार ८९ मा प्रतिरोध पाउने देखिन्छ ।
(याे तथ्यांककाे आधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभुत र प्राविधिक पक्ष हेर्नु आवश्यक छ ।)