ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रक्सी खपत बढाउन जापानमा शुरु भयाे युवाहरूबीच देशव्यापी प्रतिस्पर्धा

२०७९ भदौ, ३  
विविध र यो पनि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

टोकियो (जापान) । कोरोना भाइरसको महामारी, महँगी, जीवनशैलीमा आएको परिवर्तन र स्वास्थ्यप्रति सजगता आदिका कारण जापानमा हालैका वर्षहरूमा रक्सीको खपत ह्वात्तै घटेको छ । तपाईं भन्नुहोला- रक्सीको विक्री घट्नु त राम्रै कुरा हो नि ! तर, याे मदिरा उद्योगको लागि चिन्ताकाे विषय हो  

रक्सी विक्रीबाट हुने कर आम्दानी घटेपछि जापान सरकारको टाउको दुख्न थालेको छ । सरकारले युवाहरूमाझ रक्सीको खपत बढाउनबारे देशव्यापी प्रतिस्पर्धा शुरु गरेको छ ।

रक्सी खपत घटेर मदिरा उद्योगको राजश्व संकलन घटेपछि त्यहाँको राष्ट्रिय कर विभाग (एनटीए)ले साके भिभा नामक अभियान शुरु गरेको छ । यो अभियानले रक्सीजन्य पेयको प्रवर्द्धन गर्न युवाहरूलाई प्रोत्साहित गर्ने विभागको अपेक्षा छ । 

यो प्रतिस्पर्धामा २० देखि ३९ वर्षसम्मका मानिसहरूबाट मदिराको लोकप्रियता पुनः ब्यूँताउन मद्दत गर्ने खालको प्रस्तावहरू मागिएकाे छ । कोरोना भाइरसको महामारीबीच जापानीहरूको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ । यसले पनि रक्सीको खपत प्रभावित बनेको छ । देशमा वृद्ध जनसंख्या बढ्दै गइरहेकोले त्यहाँ रक्सीको खपत घटेको छ । विशेषगरी युवा पुस्ताहरूमा रक्सी सेवन दर न्यून छ । यस्तोमा रक्सीको विक्रीबाट सरकारले पाउने राजस्वमा पनि तीव्र कमी आएको छ ।

यो प्रतिस्पर्धा सेप्टेम्बर ९ सम्म चल्नेछ । यसमा नयाँ प्रडक्ट र डिजाइनको साथसाथै घरमै रक्सी सेवनको प्रवर्द्धन गर्ने उपायहरूसमेत मागिएको छ । सहभागीहरूले विक्री बढाउन आफ्नो अवधारणामा मेटाभर्स र कृत्रिम बौद्धिकता लगायत नवीनतम् प्रविधिको समेत प्रयोग गर्न पाउने बताइएको छ । प्रतिस्पर्धामा विजयी प्रस्तावलाई विज्ञहरूको सहयोगमा थप विकास गरिनेछ र नोभेम्बरमा यसको अन्तिम प्रस्ताव पेश गरिनेछ ।

सन् १९९५ मा जापानमा प्रतिव्यक्ति रक्सीकाे खपत वार्षिक औसत १०० लिटर थियो । सन् २०२० मा यो ७५ लिटरमा झरेको छ । रक्सीको विक्रीमा आएको कमीका कारण सरकारको बजेट प्रभावित हुन थालेको छ । सन् २०२० मा सरकारको राजश्व संकलनमा रक्सीमा लगाइएको करको अनुपात १ दशमलव ७ प्रतिशत मात्रै थियो । सन् २०११ मा यो अनुपात ३ प्रतिशत थियो भने सन् १९८० मा यो अनुपात ५ प्रतिशत थियो । 

कोरोना भाइरसको महामारीबीच रक्सीजन्य पेयको विक्री कर ह्वात्तै घटेको छ । सन् २०१९ मा रक्सीजन्य पेयको विक्रीबापत सरकारले ११ खर्ब ३० अर्ब येन राजस्व संकलन गरेको थियो । सन् २०२० मा यो घटेर १ खर्ब १० अर्ब येनमा सीमित भयो । रक्सीको विक्री करमा आएको यो कमी सन् १९८९ यताकै उच्च भएको जापान टाइम्सले बताएको छ ।

रक्सी खपतको मामिलामा जापान ४९ देशहरूमाझ ३८ औं स्थानमा रहेको आर्थिक सहयोग तथा विकासका लागि संगठन (ओईसीडी)ले बताएको छ । यो ओईसीडी र यसको साझेदार देशहरूमध्ये सबैभन्दा धेरै हो । जापानमा २० वर्ष भएकाहरूले मात्रै रक्सी किन्न पाउँछन् ।

जापानमा कार्यालयको काम सकेपछि कर्मचारीहरू रक्सी पिउन जाने प्रचलन छ । तर, कोरोना भाइरसको महामारीका कारण घरमै काम गर्ने नीति, सामाजिक गतिविधिहरूमा गरिएको कडाई, रेष्टुराँ र बारहरूको सञ्चालन अवधिमा गरिएको कटौती आदिका कारण मदिरा उद्योग मारमा परेका छन् । बियरको खपत दोहोरो अंकले घटेको छ । बियरको विक्री २० प्रतिशतले घटेर १ खर्ब ८० करोड लिटरमा सीमित भएको छ । 

सन् २०२० मा जापानमा बियर खपत अघिल्लो वर्षको तुलनामा प्रतिव्यक्ति ९ दशमलव १ प्रतिशतले घटेर ५५ बोटलमा झरेको किरिन बियर उत्पादक कम्पनी किरिन ब्रुअरीले बताएको छ । अभियानले मानिसहरूलाई उपर्युक्त मात्रामा रक्सी सेवन गर्न सम्झाउने स्वास्थ्य मन्त्रालयले आशा गरेको छ । प्रतियोगिताका अन्तिम प्रतिस्पर्धीहरूलाई नोभेम्बर १० मा टोकियोमा आयोजना हुने गाला अवार्ड समारोहमा बाेलाइनेछ । 

विजयीहरूको अवधारणालाई आफूले व्यावसायीकरण गर्ने कर कार्यालयले बताएको छ । तर, यो अभियानमा जापानीहरूले खासै उत्साह देखाएका छैनन् । रक्सी खपतलाई प्रेरित गर्ने सरकारी योजनाको केही ट्विटर प्रयोगकर्ताहरूले आलोचना गरेका छन् । रक्सी सेवन जस्तो अस्वस्थकर बानीको प्रवर्द्धन गरेको भन्दै उनीहरूले अभियानकाे खोइरो खनेका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ninam Kirat

[Aug 22, 2022 12:25am]

हुनत म मुटु रोगी हो । तापनि यो प्रतिस्पर्धा नेपालमा भएको भए, हुने भए म पनि भाग लिने थिएँ । बट....



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)