काठमाडौं । आउँदो मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा मिलेर भाग लिने दलहरूको प्रयास आर्थिक समृद्धि, प्रगति र प्रजातन्त्रका लागि घातक छ । संसारमा विरलै हुने यस्तो अभ्यास नेपालमा भित्र्याएर राजनीतिक दलहरूले समाज परिवर्तन होइन कि आफ्नो मात्र दुनो सोझ्याउने प्रयास गरिरहेका छन् । दलहरूले गठबन्धन गरेर निर्वाचनमा भाग लिने हो भने त्यसले परिवर्तनलाई रोक्छ ।
उदाहरणका लागि समाजमा राम्रा र इमानदार भनेर चिनिएका व्यक्तिको संख्या ४९ प्रतिशत भए पनि ५१ प्रतिशत नराम्राले गठबन्धन गरे भने राम्रा पराजित हुनुपर्छ । अहिले सत्तारूढ र प्रतिपक्षी दलहरूबीच भइरहेको गठबन्धनको प्रयास राम्रो उद्देश्यका लागि भन्दा विवादास्पद छविका नै किन नहुन् शीर्ष नेताको आशीर्वादमा टिकट पाउनेलाई जिताउन हो । गठबन्धन गर्न तम्सिएका कतिपय नेता नै भन्छन्– निर्वाचनपछि अहिलेको गठबन्धन कायम नरहन पनि सक्छ । त्यसैले अहिले गर्न खोजिएको गठबन्धन नयाँ काम वा प्रयासका लागि नभई वर्तमान सत्तामा रहेका र यसअघि पटकपटक रहिसकेकालाई चुनाव जिताउने मनसायबाट मात्र प्रेरित छ । वर्तमान सत्तामा रहेका वा सत्ताको अनुभव लिइसकेका व्यक्तिबाट आर्थिक समृद्धि सम्भव छैन भन्ने कुरा विगतले पुष्टि गरिसकेको छ । नेपालको आर्थिक सृमद्धि र प्रगतिका लागि नयाँ सोच र योजना चाहिएको छ ।
यहाँनेर कसैले प्रश्न उठाउन सक्छन्– चुनाव नै जित्न सकिएन भने कसरी राम्रा वा प्रगतिका काम गर्न सकिन्छ र ? तर, सबैले बुझ्ने कुरा के हो भने उद्देश्य नै चुनाव जित्ने र सरकार गठन गर्नलाई लिने हो भने विजयी भइसकेपछि त्योभन्दा बढी काम गर्न न उनीहरूको चासो हुन्छ न त नैतिकता नै । अहिले देखिएकाबाट परिवर्तन हुँदैन भन्ने पुष्टि भइसकेपछि गठबन्धन गरेर विजयी हुने तिनै व्यक्तिबाट पुनः केही उपलब्धि हुँदैन ।
दलहरू आफूलाई परिवर्तन गर्न चाहन्छन् वा देश र जनताका लागि काम गर्ने चाहना हो भने गठबन्धन गरेर होइन, एक्लाएक्लै आफ्ना एजेन्डा र योजनाका साथ निर्वाचनमा भाग लिनुपर्छ । दलहरूले अघि सारेका एजेन्डालाई बहुमत जनताले मन पराए ठीकै छ, नभए निर्वाचन सकिएपछि सरकार चलाउन कोसँग तालमेल गर्ने हो, त्यतिबेलै निर्णय गर्नु प्रजातान्त्रिक हुन्छ । त्रिशंकु संसद् बनेको अवस्थामा संसारका अन्य मुलुकमा पनि दलहरूले मिलिजुली सरकार चलाउँछन् । तर, अधिकांशले निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका हुन्छन् । निर्वाचनपछि सरकार गठन गर्दा मात्र सत्तामा साझेदारी गर्छन् । निर्वाचनअघि नै गठबन्धन गरेर आफ्नो स्थान सुरक्षित गर्दैनन् ।
गठबन्धन गरेर निर्वाचनमा भाग लिने हो भने दलहरूसँग प्रतिस्पर्धा गर्ने क्षमतासमेत हुँदैन । राजनीतिमा लाग्दा देश र जनताको भलाइमा काम गर्ने उद्देश्य लिएको हुनुपर्छ । सरकार बनाउने र लाभका पदमा पुग्ने मात्र लक्ष्य हुनु हुँदैन । जुन व्यक्ति वा संस्थासँग प्रतिस्पर्धा गर्ने क्षमता हुँदैन, त्यस्ताबाट अरूले नयाँपन वा प्रगतिको अपेक्षा गर्नु बेकार हुन्छ । त्यसैले यतिखेर दलहरू आउँदै गरेको निर्वाचनको तयारीमा जुटेकाले गठबन्धन नभई एक्लाएक्लै निर्वाचनमा भाग लिने प्रयास गर्नुपर्छ र कसको ल्याकत के हो ? त्यो जनताबाट अनुमोदित हुनुपर्छ । यसो हुन सक्यो भने मात्र प्रजातन्त्रको वास्तविक मर्म पनि कार्यान्वयनमा आउँछ ।
फेरि पनि हुनेखाने वा शक्तिशालीहरू नै एकआपसमा मिल्ने, चुनाव जित्ने अनि सरकार चलाउन मात्र खोज्ने हो भने नयाँपन आउँदैन भन्ने ठोकुवा गर्न सकिन्छ । यस्तो बेला विभिन्न राजनीतिक दलभित्र रहेका युवापुस्ता सक्रिय हुन आवश्यक छ । युवाले भूमिका बढाउँदा सफलता पाइन्छ भन्ने कुराको उदाहरण नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालाई मान्न सकिन्छ । त्यस्तै केही महीनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको जितलाई पनि यससँग जोड्न सकिन्छ ।
जबसम्म आम नेपालीले परिवर्तन महसूस गर्न पाउँदैनन् तबसम्म देशमा प्रजातन्त्र छ भन्नु बेकार हुन्छ । नेपालले अँगालेको शासन व्यवस्थाले गर्दा यतिखेर जुनसुकै दललाई बहुमत प्राप्त गर्न गाह्रो पक्कै छ । तर, यस्तो गाह्रोसँग प्रातिस्पर्धा गर्न दलहरू सुध्रनु आवश्यक हुन्छ । गठबन्धन गरेर निर्वाचनमा भाग लिने र जित्ने उद्देश्य लोकतान्त्रिक हुन सक्दैन ।
सत्तारूढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर आउँदै गरेको निर्वाचनमा भाग लिने निर्णय गरी स्थान बाँडफाँटमा लागिपरेका छन् । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि राप्रपालगायत अन्य दलसँग गठबन्धन वा चुनावी तालमेल गर्न सकिन्छ कि भन्ने प्रयासमा छ । यीबाहेक अन्य साना दलले पनि निर्वाचनमा जित प्राप्त गर्न विभिन्न दलसँग सहकार्य गर्ने प्रयास गरिरहेका छन् ।